सामाजिक सञ्जाल सगुनले मिनि आइपिओ खुलायो, ढुक्क भएर लगानी गर्न आग्रह

फाइल फोटो

तक्दीर अधिकारी, सिड्नी ।
सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुन इंकले मिनि आइपिओ खुलाएको छ । दोस्रो पटक मिनि आइपिओ खुलाउँदै सगुनले ढुक्क भएर लगानी गर्न समेत आग्रह गरेको छ । कम्पनीद्वारा जारी गरिएको रेग ए प्लस मिनी आइपीओबारे जानकारी गराउन जुम मार्फत आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सगुनका संस्थापक गोविन्द गिरीले सगुनले लामो यात्रा पार गरेको र प्रयोग कर्ताहरुको विश्वास र माया जित्न सफल भएको बताए। सन् २०१५ बाट सुरु भएको एप आज विश्वका लाखौं मानिसले डाउनलोड गरेको भन्दै नेपालीहरुले सामाजिक सञ्जालमा लगानी गर्ने अवसर दिनको निम्ती आइपिओ खुलाएको बताए ।

उक्त एपमा भिडियो, च्याट लगायतका फिचरहरुको ब्यबस्था गर्न लागिएको छ । अमेरिकामा मुख्यालय रहेको नेपाली सामाजिक सञ्जाल सगुनले आगामी वर्षको सुरुमै सेकेण्डरी आइपीओमा जाने लक्ष्य राखेको छ । हाल फेसबुकले नेपालबाट बर्षेनी २२ अर्ब रुपियाँ विज्ञापनबाट आम्दानी गर्ने गरेको अनुमान गरिएको बताउंदै सगुनले त्यो रकम नेपालमै रोक्न चाहेको बताएको छ । सगुनले नेपालको रकम विदेशिन नदिइ नेपालकै विकासको निम्ती प्रयोग गर्ने बताएको छ । सगुन इंकलाई सन् २०२३ मा न्यूयोर्क स्टक एक्सचेन्जमा दर्ता हुने प्रवासी नेपालीहरुले स्थापना गरेको पहिलो कम्पनी बनाउने लक्ष्यमा आफुहरुर अघि बढेको उनले सुनाए ।

सगुनले “ग” श्रेणीको साधारण शेयर मिनि (आइपिओ) प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्रि गरिरहेको छ ।आगामी सेप्टेम्बर ३० तारिख सम्म नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले आइपिओ खरिद गर्न पाउनेछन् । नेपालको कानून अनुसार नेपालबाट विदेशी कम्पनीहरुमा लगानी गर्न नपाइने त्यस्तै अमेरिकी कानूनले उत्तर कोरिया र इरानका नागरिकहरुलाई अमेरिकी कम्पनीहरुमा लगानी गर्न रोक लगाएको कारण ती देशहरुबाट लगानी गर्न पाइने छैन् । कम्तिमा ३० कित्ता शेयर नौ सय डलरमा खरिद गर्न सकिने प्रावधान रहेको छ । सन् २०२१ को शुरुमा सेकेण्डरी आइपिओमा जाने रणनीति रहेकोले पनि मिनि आइपिओमार्फत लगानीको अवसर यो भ्यालुएशनमा यही नै अन्तिम पटक हुने सगुनका सहसंस्थापक कविन सिटौलाले जनाए।

अहिले संसारभरि सगुनका प्रयोगकर्ताहरु ८१ लाख बढी रहेको सो कम्पनीले जनाएको छ । कार्यक्रममा सगुनका नेपाल कन्ट्री म्यानेजर आनन्द बज्राचार्य तथा सगुनकी सह संस्थापक स्वाति दयालले क्रमशः नेपाल र भारतमा सगुनका सेवा तथा उत्पादनबारे जानकारी दिएका थिए। सगुनका प्रयोगकर्ता विशेषगरी अमेरिका, नेपाल र भारतसहित दक्षिण एसियाली मुलुकमा बढीरहेका छन् । नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजारसंग सगुनको सम्झौता भइसकेको र अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन नविल बैंकसग छिट्टै सहकार्य गर्न लागेको सगुनले जनाएको छ । नेपालमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूमध्ये सगुन ५ औं स्थानमा छ।

सगुनका ग्लोबल कोर्डिनेटर सूर्य गुरुङले स्टार्ट अप कम्पनीमा गरिएको लगानी दीर्घकालिन लगानी भएको बताउंदै लगानी गर्नासाथ प्रतिफल खोज्ने सोच राख्न उपयुक्त नहुने बताए। उनले भविष्यको लागि र सगुनको भिजनमा साथ दिने र विश्वास गर्ने सबै धन्यवादका पात्र भएको बताए । सो पत्रकार सम्मेलनमा नेपाल र नेपाल बाहिरका गरी ७० भन्दा बढी पत्रकार र सगुन ग्लोबलका सदस्यहरु सहभागी थिए ।

सगुनको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले यहा क्लिक गर्न सक्नेछन् ।