गत वर्षको साउनमा नेपाल भ्रमणमा आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली नेताको गडगडाहट तालीको स्वाद चाख्दै नेपालको प्रशंसा गरेका थिए । जेठमा भारतको सत्ता सम्हाले लगत्तै साउनमा नेपाल भ्रमणमा आएका मोदीले नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै बारम्बार भनेका थिए, ‘शान्तिका दूत भगवान गौतम बुद्धको जन्मभूमि नेपालको शान्ति प्रक्रिया र संविधान लेखन विश्वको लागि उदाहरणीय छ । नेपालबाट द्वन्द्व व्यवस्थापनका सम्बन्ध विश्वले पाठ सिक्न सक्छन् । ’ मोदीका उक्त भनाइहरु भूईंमा झर्न नपाउँदै हाम्रा माननीय सांसद, मन्त्री र नेताहरुले आफू अगाडिको टेबल भाँचिने गरी बजाएका थिए ।
‘बुद्ध नेपालमा जन्मिएको’ वाक्य बारम्बार दोहोर्याएका मोदीले नेपालको जल, जमिन, पर्यटन विकासको सम्भावना रहेको नेपाली नेताहरुलाई सम्झाइदिँदा पनि संसदमा तालीको वर्षा भएको थियो । यद्यपी मोदीको उक्त भनाइमा नेपाली नेताहरुको ताली अनावश्यक रहेको भन्दै कतिपयले उतीखेरै टिप्पणी पनि गरेका थिए । नेपालको सम्भावनाका बारेमा यहाँका नेताहरुलाई अरुले सम्झाइदिनु पर्ने तथा बुद्ध नेपालमै जन्मिएकाले मोदीको उक्त भनाइमा ताली बजाउनुको कुनै अर्थ नरहेको भन्दै उनीहरुले टिप्पणी गरेका थिए । तर, मोदीको कुटिल चालमा नेताहरु फसेको पत्तो त्यतिखेर चाल पाए जतिखेर मोदीले जापान पुगेर ‘बुद्ध भारतमा जन्मिएको’ भने । नेपाल भ्रमण सकेर स्वदेश फर्केको केही समयपछि नै जापानमा पुगेर ‘भारतमै बुद्ध जन्मिएको हो’ भनेर नेपाली नेताहरुको गालामा झापड हान्न सुरु गरेका मोदीले आजपर्यन्त हानी रहेका छन् ।
दश महिना अघि नेपालको संसदमा ‘बुद्ध भूमि नेपाल’ भन्दा हात भाँचिने गरी ताली बजाएका नेताहरुले अहिले आफ्नै गालामा थप्पड हानी रहेका मोदीको उक्त अभिव्यक्तिप्रति आपत्ति र विरोध जनाउन नसक्नु नेपाली राजनीतिज्ञहरुको स्वाभिमान र सार्वभौमको नारालाई घाममा सुकाइदिएको छ ।






