बुधबार बि्रसबेनको प्रस्तुतीसँगै नेपथ्यले अष्ट्रेलियामा यो वर्षका निम्ति प्रस्तावित पाँचमध्ये तीनवटा कार्यक्रम सम्पन्न गरेको छ । यहाँ बस्ने पाँच हजार नेपालीमध्ये अधिकांश विद्यार्थी वा सेवा उद्योग, स्वास्थ्य अनि विभिन्न प्राविधिक क्षेत्रमा कार्यरत छन् ।
‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीतहरु प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए, ‘हाम्रा लोकगीतहरुले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भिर सन्देश र दर्शनहरु पनि बोकेका हुन्छन् ।’
‘विदेशको ठाउँमा मै मरि जाउँला…सालैजो…कल्ले देला सुनपानी’
सँधै बाजा गाजासहित लयमा गाउनेगरेका तिनै शब्दहरुलाई अमृतले वाचन गरेर सुनाउँदा मात्र पनि सम्पूर्ण हल एकछिनसम्मै शान्त बन्न पुगेको थियो । त्यसपछि तिनै शब्दहरुलाई लय र बाजाहरुले सिँगार्दै सालैजो गाउन थाले- ‘लाग्यो कुहिरो दिनभरि…’
यो गीत लगत्तै उनले विदेशमा सबै नेपालीहरु मिलेर बस्न र आइपरेका बेला एकले अर्कालाई साथ दिन अनुरोध पनि गरे । ‘अरुलाई परेका बेला सहयोग गर्नुभयो भने तपाईँलाई परेको बेला पनि सहयोग पाउनु हुन्छ,’ उनको भनाइ थियो, ‘बाहिर आएको बेलामा हामी नेपाली अझ नजिकिएर बस्नु पर्छ ।’
कार्यक्रममा ‘यो जिन्दगानी’, ‘भेँडाको ऊनजस्तो’, ‘रेशम’ र ‘तालको पानी’ जस्ता गीतहरु बज्दा दर्शकहरु झुमे । पछिल्ला कन्सर्टहरुमा हिट गीतको हिसाबले दर्शक प्रतिक्रिया पाउन सफल भइसकेको नेपथ्यको आगामी अल्बममा समाहित ‘हो रामा रामा’ पनि ब्रिसबेनका दर्शकमाझ प्रस्तुत गरिएको थियो ।
नेपथ्यको अष्ट्रेलियामा श्रृंखलावद्ध प्रस्तुतीका निम्ति म्याग्दी सेवा समितिले भ्रमणको संयोजन गरेको हो । टोलीले अबको यात्रा डार्बिनतर्फ गर्नेछ जहाँ अप्रिलको १८ तारिख फेरि नेपथ्य घन्किने छ । अप्रिलकै २६ तारिख मेलबोर्नस्थित मेलबोर्न टाउनहलमा अन्तिम प्रस्तुती सम्पन्न गरेपछि नेपथ्यले यो वर्षको अष्ट्रेलिया भ्रमण बिसाउनेछ ।







