१० साउन, काठमाण्डौ
नेपालमा थप २ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका एक महिलाको कोरोनाका कारण मृत्यु भएको हो । वीरगञ्ज ११ का ८५ वर्षका महिलाको नारायणी अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । कोरोना विशेष अस्पतालमा अर्का एक युवतीको पनि हिजो नै मृत्यु भएको छ ।
मृतक युवती बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया रहेको प्रहरीले जनाएको छ । नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिनुभयो । प्रदेश २ को पर्सामा समुदायस्तरमा नै कोरोना फैलिएको शङ्का गर्दै आजदेखि निषेधाज्ञा जारी गरिएको छ ।






