बेलायत बस्ने शिवजीले उर्मिलाको जन्मोत्सवमा गरे इलाममा राहत वितरण

लण्डन ।समाजसेवी शिवजी श्रेष्ठले श्रीमती उर्मिला श्रेष्ठको जन्मदिनको उपलक्ष्यमा श्रीमतीको जन्मथलोका परिवारलाई राहत वितरण गरेका छन्। बेलायतमा बस्दै आएका एक सामाजिक अभियन्ता श्रेष्ठले आफ्नो श्रीमतीको जन्मदिन फरक तरिकाले मनाएका हुन् ।

बेलायतको बेजिङस्टकमा बस्ने नेपाल प्रहरीका पूर्व सिनियर अफिसर शिवजी श्रेष्ठले श्रीमती उर्मिला श्रेष्ठको जन्मदिनमा श्रीमतीको जन्मथलो इलाममा राहत वितरण गरेका छन् ।

कोरोनाको कारण लकडाउनमा परेर काम र मामबाट बन्चित भएका २० विपन्न परिवारलाई आधारभूत आवश्यकताका सामग्री वितरण गरिएको उनले बताएका छन् । ती परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, मरमसला, औषधि सहितको प्याकेज प्रदान गरिएको थियो ।

जन्मदिनमा सहयोग बाँड्ने योजनालाई उनले श्रीमती उर्मिलाबाट भने गोप्य राखेका थिए । जन्मथलो इलाममा राहत पाएका व्यक्तिहरुले एकैपटक टेलिफोनमार्फत ’ह्याप्पी बर्थ डे’ भन्दै उनलाई सरप्राइज दिएका थिए ।

उर्मिलाकी आमा केदारकुमारी श्रेष्ठ र काकी मुना श्रेष्ठको हातबाट राहत वितरण गरिएको थियो । जसको संयोजन उनकै दाजुहरु पत्रकार महासंघ इलाम शाखाका पूर्व उपाध्यक्ष मोहनमान श्रेष्ठ र इलाम क्याम्पसका पूर्र्व सहायक क्याम्पस प्रमुख डा योगेन्द्रमान श्रेष्ठ र भदा सुयोग्य श्रेष्ठले गरेका थिए । बेलायतमा नर्सका रुपमा कार्यरत उर्मिला सेवाकै क्रममा कोरोना संक्रमित भएर निको भएपछि फेरि काममा फर्किसकेको भन्दै दाजु योगेन्द्रमान श्रेष्ठले उनमा समाजसेवाप्रति निकै ठूलो लगाव रहेको बताए ।

त्यसक्रममा इलाम नगरपालिकाका मेयर महेश बस्नेत, राहत वितरणका संयोजक मोहनमान श्रेष्ठ, मनोज ताम्राकार, बुद्धिमान राई लगायतका स्थानीय समाजसेवीले शुभकामना दिएका थिए । जन्मदिनको अवसरमा फजुल खर्च नगरी आफ्नै जन्मभूमिमा सहयोग गर्ने कार्य प्रशंसनीय रहेको उनीहरुको भनाइ थियो । उर्मिलाले यसअघि पनि आफ्नो जन्मथलोमा वृद्धवृद्धाको सहयोग, ईलाइब्रेरी स्थापना लगायतका थुप्रै सहयोग गरेको उनीहरुले स्मरण गरे ।

राहत पाउनेहरुले विदेशमा रहेर पनि आफ्नो जन्मथलोमा समस्यामा परेका दाजुभाइ दिदीबहिनीलाई सम्झिएर आफ्नो जन्मदिन मनाएकोमा आभार प्रकट गरेका थिए ।

बेलायतबाट राहतको संयोजन गर्ने शिवजी श्रेष्ठले महामारीका बेला नेपालमा रोगसंगै भोकबाट मर्ने अवस्था उत्पन्न भएको भन्दै सक्दो सहयोग गर्नु संसारका सबै ठाउँमा छरिएका नेपालीको कर्तव्य रहने बताए ।