तक्दीर अधिकारी
सिड्नी । कोरोना भाइरसको संक्रमणले समस्यामा रहेका विद्यार्थीलाई भिजन फर मोटिभेसन (भीएफएम) ले खाद्य सामाग्री वितरणलाई निरन्तरता दिएको छ । गत दुई साता झन्डै ३ सयले खाद्य सामाग्री प्राप्त गरे । भीएफएमका संस्थापक महेश प्रसाईं (म्याक्स बाबु) का अनुसार अस्ट्रेलियामा लकडाउन पूर्णरुपमा नहटेसम्म समस्यामा परेका विद्यार्थीलाई भीएफएमले खाद्य सामाग्री उपलब्ध गराइरहने छ ।
भीएफएमले अहिलेसम्म न्यू साउथ वेल्स राज्यमा समस्यामा रहेका १५ सयभन्दा बढी विद्यार्थीलाई खाद्य सामाग्री उपलब्ध गराइसकेको छ । खाद्य सामाग्रीमा पाँच केजी चामल, दाल, चना, चिउरा ,१ बोतल पानी ,अन्डा, आलु र सिंगो लोकल कुखुरा संलग्न छ ।
प्रत्येक आइतबार १ बजेदेखि ३ बजेसम्म खाद्य सामाग्री वितरण गरिन्छ । नेपाली विद्यार्थीहरु जसलाई अप्ठ्यारो परेको छ, उनीहरुले सम्पर्क गर्न सक्छन् । त्यसभन्दा अघि उनीहरुले भीएफएमको फेसबुक पेजमा गएर फर्म भर्नुपर्ने हुन्छ । सिधैं सम्पर्क गरेर जाँदा राहत प्राप्त नहुने भीएफएमका उपाध्यक्ष सुमन ओलीले बताए ।
अहिले सम्ममा खाद्य सामाग्री वितरण कार्यक्रममा एनआरएनए संस्थापक इन्द्रा वन, एनआरएनए उपाध्यक्ष मन केसी, एनआरएनए ओसियाना कोअर्डिनेटर होम पाण्डे, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङ, प्रवक्ता नन्द गुरुङ, पूर्वउपाध्यक्ष तथा झापाली समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, नेपाली समाजका अध्यक्ष गणेश तामाङ, जेएनसीका अध्यक्ष जीतमान लिम्बू, ओएनएफका अध्यक्ष रमेश पाण्डे, अस्ट्रेलियन नेपाप्लिज जर्नालिस्ट एसोसिएसनका अध्यक्ष हेमन्त काफ्ले, सहअध्यक्ष ऋषि आचार्य, रकडेल नेपाली व्यवसायी संघका अध्यक्ष युवराज भट्टराई, मगर समाजका अध्यक्ष अनिल रानामगर, झापाली समाजका अध्यक्ष उमेश पोखरेल, गुठी अस्ट्रेलियाका संरक्षक पदम शाक्य लगायतको उपस्थिति थियो ।
नेपाली समाजका लब्ध प्रतिष्ठित व्यक्ति बोलाएर राहत वितरण किन गरेको भन्ने लन्डन नेपालको जिज्ञासामा भीएफएमका संस्थापक प्रसाईले भने, ‘नेपाली समाजमा काम गरिरहेका अग्रजहरुलाई अगाडि राखेर आफूले काम गर्दा उहाँहरुबाट हौसला र प्रेरणा प्राप्त हुन्छ । त्यसले आफूलाई अझ ऊर्जाशील भएर टिमलाई चलायमान बनाउन सहयोग पुग्ने भएकाले अग्रज व्यक्तित्वका अगाडि राहत वितरण कार्यक्रम गरिएको हो । हामी हरेक साता बेग्लाबेग्लै पाहुना बोलाएर उहाँहरुकै अगाडि काम गर्दछौं ।’
कार्यक्रममा सहभागी पाहुना तथा राहत लिन आउनेलाई हातमा सेनिटाइजर गराउने, अस्टे«ेलियन सरकारले तय गरेको मापदण्ड पूरा गरिएको थियो । समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न भीएफएमको ढोका जहिले खुल्ला रहने भीएफएमका संस्थाक महेश प्रसाई (म्याक्सबाबु) ले बताए ।
यो संकटपूर्ण घडीमा आफू विद्यार्थी भएर पनि सक्रिय रहेका भीएफएमका सक्रिय सदस्य निश्चल कुनरले सन्तुष्ट रहेको बताए । प्रत्येक कार्यक्रममा भीएफएमका गजलवाचक सुमन पौडेलले गजल सुनाएर सबैलाई मन्त्रमुग्ध बनाएका थिए ।






