काठमाडौं : गम्भीर प्रकृतिको अपराधमा मुछिएकी मलेसियन महिला मारिना विन्ती जमालुद्धिनको खुसीको यात्रा त्यहीं टुंगियो, जब उनी ११ किलो कोकिनसहित नेपालमा पक्राउ परिन्। पाँचपटकसम्म कोकिनको भरिया बन्न सफल मारिना छैटौंपटकमा नेपाल भित्रिएर बाहिरिने क्रममा पक्राउ परेकी हुन

गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी ३७ वर्षीया मारिनाले भनिन्, ‘पतिलाई बचाउनु थियो, छोरालाई पढाउनु थियो, त्यही भएर गलत काममा हात हालें। आज यस्तो अवस्था आउला भन्ने सोचेकी थिइनँ।’
लागूऔषध नियन्त्रण ब्युरोमा उनले हत्कडी लगाएका हात जोड्दै लामो समय त्यही कुरा दोहो:याउँदा सँगै बस्ने अरू पनि स्तब्ध भए। ‘पतिलाई मधुमेह छ, एउटा खुट्टा छैन, अर्को पनि कमजोर छ’, उनले भनिन्, ‘डाक्टरले राम्रो अस्पतालमा उपचार गरे खुट्टा बलियो हुन्छ भनेका थिए, छोरालाई पनि राम्ररी पढाउन सकेकी थिइनँ त्यसैले यस्तो काम गर्न थालें।’
पैसा कमाउने सपना बुन्दै मारिना कामको खोजीमा लामो समय भौंतारिइन्। बल्लतल्ल सपिङ मलमा काम पाए पनि त्यसले परिवारको छाक टार्न पुगेन। पैसा कसरी जुटाउने भन्ने चिन्तामा बसिरहेकी मारिना लागूऔषध कारोबारमा संलग्न अफ्रिकीहरूको संगतमा पुगिन्। ब्राजिलको लागूऔषध इटाली पु:याउन सके एकपटकको ६ हजार अमेरिकी डलर पाउने थाहा पाएपछि उनले मन थाम्न सकिनन्।
पतिले यस्तो काममा हात नहाल्न भने पनि उनले ब्राजिल पुगेर कोकिन बोक्ने काम गर्न थालिन्। ‘उहाँले मलाई यस्तो काम नगर भनेर धेरै सम्झाउनुभएको थियो तर पैसा जम्मा गर्ने अर्को विकल्प नदेखेपछि म यसमा लागें, अहिले पछुतो छ’, उनले भनिन्।
उनले पछिल्लो दुई वर्षमा पाँचपटक ब्राजिलको ‘कोकिन’ कतारको दोहा र भारत हुँदै इटली पु:याइन्। ‘पतिको उपचारका लागि आवश्यक रकम जम्मा भइसकेको थियो, मिठो खाने र राम्रो लगाउने इच्छा पनि पूरा भइरहेको थियो’, उनले भनिन्, ‘तर पैसाका लागि कोकिन बोकिरहन मन लाग्यो।
नेपालबारे त्यति थाहा नभएकी मारिनालाई यहाँबाट दोहा हुँदै इटाली जानु थियो। ‘पति, छोरा र म ब्राजिलबाट दोहा सँगै आएका थियौं’, उनले भनिन्, ‘मलाई नेपाल आउनुपर्ने भएपछि उनीहरूलाई उतैबाट मलेसिया पठाएकी थिएँ।’
मारिनाको हवाई टिकटदेखि नेपालमा बस्ने अपार्टमेन्टसमेत अरूले नै बुकिङ गरिदिएका थिए। कोकिन बोकेर आएकी उनी सहज रूपमा विमानस्थलबाट बाहिरिइन्। पाँच दिन बसाइमा उनले आफूलाई मन परेका कपडा र साथीलाई उपहारसमेत किन्न भ्याएकी थिइन्। जाने दिन पहिलेभन्दा सामान धेरै थियो। ल्यापटप ब्याग जस्तै ससाना व्याग उनका साथमा थिए।
प्रहरीले जाँच गर्दा कम्प्युटरको स्क्रिनमा एउटा ब्यागमा शंस्कास्पद वस्तु देखियो। खोजी गर्दा कम्पनीबाटै सिलाइ गरेर ल्याएको साना पाँचवटा ब्यागमा ११ किलो कोकिन भेटियो। ढुक्कसँग नेपाल छिरेकी मारिना नेपाल छोड्ने बेलामा प्रहरीको फन्दामा परिन्। ‘मलाई केही बोल्नै आएन, शरीर थाम्न नसकेपछि थुचुक्क बसें’, उनले भनिन्, ‘मलाई सबैले अपराधीका रूपमा हेरे, मेरो पीडा मसँगै थियो।’
लागूऔषध नियन्त्रण ब्युरोले अब उनलाई कम्तीमा पाँच लाख रुपैयाँ जरिबानासहित १५ वर्ष वा आजीवन जेल सजायको दाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गर्ने भएको छ। अब उनलाई छोरा र पतिको पीर र चिन्ता छ।
‘मलाई मलेसिया नपठाउनुहोस्, त्यहाँ गयो भने म मर्नुपर्छ’, उनले लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी केशरीराज घिमिरेसमक्ष अनुरोध गर्दै थिइन्, ‘जे सजाय दिनु छ यहीं दिएरमात्र मलाई घर पठाउनुहोस्।’ मलेसिया वा अन्य कुनै मुस्लिम देशमा यसरी पक्राउ परेको भए मृत्युदण्डको सजाय हुन्छ भन्ने उनलाई थाहा छ।
मारिनाले बोकेको कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बढी उमेरका मानिसले उत्तेजनाका लागि प्रयोग गर्ने कोकिन महँगो पर्ने हुँदा नेपालीको पहुँचभन्दा बाहिर रहेको डीआईजी घिमिरेले बताए। यसअघि पनि लागूऔषधि ओसारपोसारमा संलग्न थाई र फिलिपिनो महिला नेपालमा पक्राउ परेका थिए।






