न्यूयोर्क । आर्थर गन उपनामले चर्चित नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् रियालिटी सो अमेरिकन आइडलको उपविजेता बन्न सफल भएका छन् । आज विहान भएको अमेरिकन आइडलको १८ औं सिजनको फाइनलमा उनी उपविजेता घोषित भएका हुन् ।
आइडलमा उपबिजेता हुने दिवेश पहिलो नेपाली मुलका गायक हुन् । दिवेशले फाइनलमा अमेरिकन रक ब्यान्ड क्रिडेन्स क्लियरवाटर रिभाइभलको ’ह्याब यु एभर सिन द रेन’ गीत गाएका थिए । विजेता भने लाइबेरियन मूलकी २१ वर्षकी जस्ट साम बनेकी छिन् । उनको वास्तविक नाम भने समान्था डियाज हो ।
पोखरेललाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । काठमाडौंमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् । कन्सासको विचिटामा बस्ने दिवेश २ वर्षदेखि संगीतको क्षेत्रमा सक्रिय छन् । उनले सन् २०१९ मा पनि उनले ’कर्णाली’, ’म’, ’खोज’ लगायत गीतहरु रेकर्ड गराएका छन् ।






