नयाँ दिल्ली, २७ चैत । इन्टरनेटमा खुद्रा व्यापार सञ्चालन गर्ने संस्था फ्ल्पिकार्टले भारतको वित्तीय तथा मनोरञ्जनको केन्द्र मुम्बईमा अन्तिम सही वितरण प्रणालीका लागि बिहानको खाना वितरण गर्न ख्यातिप्राप्त कामदारको समूह डब्बावालासँग साझेदारी गर्ने भएको छ ।
मुम्बईको डब्बावाला भारतमा रङबाटै चिन्न सकिने सही वितरण प्रणालीको रूपमा ख्यातिप्राप्त मानिन्छ । यस समूहमा काम गर्ने कामदारमध्ये धेरै निरक्षर छन् र निकै ठूलो सङ्ख्यामा काम गरे पनि उनीहरूले कहिल्यै गल्ती नगर्ने समूहको रूपमा विश्वास कमाएका छन् ।
मुम्बईमा पाँच हजारभन्दा बढी डब्बावाला घरमा बनेको ताजा खाना सङ्कलन गर्छन् र प्रत्येक दिन आफ्ना दुई लाख ग्राहकमा पु-याउँछन् । यसका लागि उनीहरूले रेलसेवा, साइकल, ठेलागाडा आदि प्रयोग गर्छन् । मुम्बई विश्वका आठौँ सबैभन्दा धेरै जनसङ्ख्या भएको नगर मानिन्छ ।
फिल्पकार्टले यी डब्बाबालाको एक समूहलाई घरमा खाना सङ्कलन गर्न जाँदा आफ्ना ग्राहकलाई उनीहरूले खरिद गरेको सामान पु¥याउने तालिम दिएको छ ।
फ्ल्पिकार्टका प्रमुख निरज अग्रवालले डब्बावाला मुम्बईको सबैभन्दा भरपर्दो र विश्वासिलो नाम भएको र यो समयसँगै परीक्षित भएको बताउनुभयो । उहाँले बिहीबार एक विज्ञप्ति प्रकाशन गरी आफूहरूले डब्बावालाहरूसँग साझेदारी गरेको र आफ्नो अन्तिम वितरण प्रणालीलाई विस्तार गर्न यो मौलिक विशेषज्ञताको उपयोग गर्न खोजेको उल्लेख गर्नुभएको छ ।
डब्बावालाले घरमा बनेको र खानदानको डब्बामा राखिएको खाना सङ्कलन गर्छन् र सम्बन्धित ग्राहकसम्म पु¥याइदिन्छन् । उनीहरूको यो सेवा सन् १८९० देखि सञ्चालनमा आएको छ । उनीहरूले सुतीको सेतो लुगाका साथमा नेहरू टोपी लगाउँछन् र उनीहरुलाई मुम्बईको सडकमा सजिलै चिन्न सकिन्छ । फोब्र्स नामक संस्थाले उनीहरूलाई गुणस्तरमा ‘छ सिग्मा’ संस्थाको रूपमा लिएको छ । उनीहरूले करिब एक करोड ६० लाख कारोबारमध्ये एकमा मात्र गल्ती गर्छन् भन्ने अनुमान गरिएको छ ।
फिल्पकार्टद्वारा मुम्बईको डब्बावालासँग साझेदारी






