तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा एकजना विद्यार्थीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । एउटै युनिटमा बस्ने पाँचजना विद्यार्थीमध्ये एकजनामा चार दिन अघि संक्रमण पोजेटिभ देखिएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य संयोजक देव गुरुङले दिएको जानकारीअनुसार पाँच जना विद्यार्थी एउटा युनिटमा बस्थे । ती पाँचमध्ये एकजनालाई रुघाखोकी र टाउको दुख्न थालेपछि उनीहरु स्वास्थ्य परीक्षण गर्न अस्पताल गएका थिए । स्वास्थ्य परीक्षण गर्दा एकजनामा कोभिड–१९ पोजेटिभ देखिएको थियो भने बाँकी चार जनाको रिर्पोट नेगेटिभ आयो ।
रिर्पोट पोजेटिभ आएकासहित अन्य तीन जनालाई होटलमा राखिएको छ भने दुईजना युनिटमै आइसोलेसनमा बसेका छन् । एनआरएनए एनएसडब्लु संयोजक गुरुङले भने, ‘उनीहरु एनआरएनएको सम्पर्कमा आएका हुन् र सबैलाई एनआरएनएले सहयोग उपलब्ध गराएको छ ।’
तेस्रो मुलुकबाट अस्ट्रेलियामा कोरोना संक्रमण फैलिन बन्द भए पनि दोस्रो चरणको संक्रमण विस्तार अझै न्यूनिकरण हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनले समाजका रहेका एक व्यक्तिबाट अरुमा अर्को व्यक्तिमा संक्रमण स-यो भने त्यसलाई दोस्रो चरण भनेर व्याख्या गरेको छ ।
अस्ट्रेलियामा दोस्रो चरणका संक्रमणको जोखिम न्यून हुन सकेको छैन । कार्यस्थलमा सर्ने, समूहमा सर्ने, एक व्यक्तिले अर्को व्यक्तिलाई बाटोमा भेट्दा सर्ने भएको कारणले सजग हुन आवश्यक छ । यातायात प्रयोग गर्दा, दैनिक उपभोग्य वस्तुको प्रयोग गर्दासमेत एकदमै सहग हुनुपर्छ ।
अस्ट्रेलियामा कोरोना न्यूनिकरण भयो भनेर बेवास्ता गर्ने समय आइसकेको छैन । पहिला यसलाई जसरी लिइन्थ्यो, अहिले पनि त्यसरी नै लियो भने मात्र समुदायलाई बचाउन सकिन्छ, नत्र यसले विकराल अवस्था सिर्जना नगर्ला भन्न सकिन्न ।






