दूतावासको तथ्यांक संकलनमा विद्यार्थीले देखाए यस्तो समस्या

तक्दीर अधिकारी

सिड्नी । अस्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित सातैजना नेपाली स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । नेपाली दूतावास क्यान्भेराकी उपनियोग प्रमुख दुरापदा सापकोटाका अनुसार संक्रमणको नयाँ केश जानकारीमा अहिलेसम्म आएको छैन । समस्यामा परेकाहरुले भरेको फर्मबारे छलफल भइरहेको जानकारी दिँदै उपनियोग प्रमुख सापकोटाले भनिन, ‘विद्यार्थीलाई समस्या प-यो भनेर दूतावासले तथ्यांक संकलन गरेको हो, तर तत्काल समस्या समाधान गर्न सकिने अवस्था देखिँदैन ।’ गत बिहीबारसम्ममा ओसियाना क्षेत्रबाट १ हजार ६ सयले सहयोगको अपेक्षा राखेर दूतावासको अनलाइन फर्म भरेका थिए ।

धेरैजसो आफ्नो रोजगारी गुमेकाले आर्थिक समस्या पर्ने उल्लेख गरेका छन् । कलेजको शुल्क तत्काल बुझाउन नसक्ने भएँ, मिति नजिकिसक्यो, त्यसलाई सार्न अनुरोध गरेका, युनिटसँगै शुल्क घटाउन अनुरोध गरेका, इन्स्टलमेन्टमा शुल्क तिर्न खोज्नेहरु तथा केहीले अध्ययनको कोर्ष डिफर गरेर नेपाल जान्छु र पछि आएर पढ्ने समस्या देखाएका छन् । कतिपयले आर्थिक समस्या प-यो पैसा नेपालबाट ल्याउन मिल्छ कि भनेर सोधेको सापकोटाले बताइन । विद्यार्थीको यी समस्याका बारेमा दूतावासले अस्ट्रेलियन इजुकेशन कन्स्लटेन्स एलाइन्स (एक्का) सँग पनि कुरा गरेको जानकारी उपनियोग प्रमुख सापकोटाले दिइन् ।

एक्काका पदाधिकारी विद्यार्थीको समस्याप्रति सकरात्मक रहेको उनले बताइन् । उपनियोग प्रमुख सापकोटाले भनिन् ‘विद्यार्थीको यी समस्या समाधान होला जस्तो देखिन्छ । कतिपय विश्वविद्यालय विद्यार्थीको समस्या समाधानका लागि प्याकेजसमेत ल्याइरहेका छन् । अहिलेको समयमा ५ सय अमेरिकी डलर बराबर ल्याउने मिल्छ, त्यसमा कुनै समस्या भएन ।’ कुन विधिबाट पैसा ल्याउन पाइन्छ भन्ने लन्डन नेपाल न्यूजको जिज्ञासामा प्रमुख सापकोटाले भनिन, ‘पहिले अध्ययनका लागि अस्ट्रेलिया आउँदा कलेजको खातामा पैसा डिपोजिट गरेर पकेट मनी बोकेर आउन पाइन्थ्यो । नेपालको नियमअनुसार बाँकी पैसा बोक्न पाइँदैन । अहिले विदेशमा भएका विद्यार्थीले कोर्ष शुल्क सिधै कलेजको खातामा जम्मा गर्न पाउने छन्, त्यसको कुनै लिमिट हुँदैन । खान बस्न गाह्रो भयो त्यसको सहयोगका लागि नेपालबाट पैसा पठाउन परे नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पाँच सय अमेरिकी डलर बराबरको पैसा कुनै पनि बैंकमा डिपोजिट गरे यहाँ उनीहरुको खातामा पैसा जम्मा हुन्छ ।’ यो सुविधा विद्यार्थीका लागि मात्र भएको उनले बताइन । विद्यार्थीलाई कोरोना भाइरस संक्रमण भए उनीहरुको इन्स्युरेन्सले काम गर्छ ? भन्ने जिज्ञासामा प्रमुख सापकोटाले भनिन्, कोभिड–१९ का संक्रमित सबैलाई उपचार गर्ने भनेर भिक्टोरियाले त घोषणा गरिसक्यो । इन्स्युरेन्स भएका विद्यार्थीको उपचार हुन्छ भन्ने हाम्रो अनुमान हो । अहिलेसम्म जतिजनासँग संक्रमण देखियो, त्यही इन्स्युरेन्सले काम गरेको छ । त्यसैले इन्स्युरेन्सले काम गर्छ भन्ने हामीलाई लागेको छ ।

धमाधम  बिद्यार्थी रहत कोषमा रकम  जम्मा भैइरहेको छ , नेपाली लाई कोरोना संक्रमण पोजेटिभ केस थप भएको सूचना नआएको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रबक्ता नन्द गुरुङ ले जानकारी दिए । उनले भने, ‘चार जना छात्राहरु स्वास्थ्यलाभ  गरी सकेका छन् । भिक्टोरियामा एक नर्स पनि संक्रमित भएकी थिइन, उनी पनि स्वास्थ्यलाभ गरेर घर फर्किसकेकी छन् ।’ संयोजक गुरुङले अहिले धमाधम कोर्षमा रकम जम्मा गर्ने काम भइरहेको बताए । उनले भने, ‘६–७ वटा नेपाली समाजले कोषमा रकम जम्मा गरिसकेका छन् । व्यक्तिबाट रकम संकलन गरिएको छैन । संस्थागत मात्र उठाइरहेका छौं, हामीले निर्धारण गरेको रकम हामी छिटै उठाइसक्छौं ।’