लन्डन । बेलायत कोरोना संकटको चपेटामा पर्दै गर्दा उच्च अध्ययनका लागि बेलायत आइपुगेका विद्यार्थीहरुलाइ सहयोग गर्न लन्डन स्थित नेपाली दूतावासले पहल गरेको छ । नेपाली दूतावास लण्डनले कोरोना भाइरस महामारीबाट बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई पर्नसक्ने समस्यामा संयोजन गर्न बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था मर्जिङ नेपसक्सलाई जिम्मा दिएको जनाएको छ ।

एकआपसमा नेटवर्किङको मुख्य उद्धेश्य राखेर बेलायतमा स्थापित एक च्यारिटेबल संस्थाका रुपमा दर्ता भएको मर्जिङ नेपसक्स बेलायतका ५० भन्दा बढि विश्वविद्यालयसम्म बिस्तार हुन सफल यो सञ्जालमा सयौं विद्यार्थीहरु सक्रिय अभियन्ताका रुपमा आबद्ध छन् ।
दूतावासद्वारा सोमबार जारी एक विज्ञप्तिमा बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुसंग सम्पर्क गर्न, समस्यामा परेका र पर्नसक्ने विद्यार्थीहरुको विवरण तयार गर्न र सहयोगको लागि समन्वय गर्न मर्जिङ नेपसक्सका अध्यक्ष पवन कँडेललाई संयोजक तोकिएको र सो समितिले कार्य अगाडि बढाएको उल्लेख छ । अहिले सो समितिले कोरोना भाइरसका महामारीका कारण विभिन्न समस्यामा परेका नेपाली विद्यार्थीहरुको विवरण संकलन गरिरहेको जनाउँदै विज्ञप्तिमा राजदूतावासमा सम्पर्क गर्ने अन्य विद्यार्थीहरुको विवरण दूतावासले संकलन गरिरहेको र दुवै विवरणहरु एकीकृत गरी गम्भीर समस्यामा रहेका विद्यार्थीहरुलाई प्राथमिकताका आधारमा मर्जिङ नेपसक्समार्फत सहयोग उपलव्ध गराइने बताइएको छ ।
विद्यार्थीहरुका समस्या समाधानका लागि राजदूतावासले बेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको र विद्यार्थीहरु भोकै रहनुपर्ने समस्या आउन नदिन गैरआवासीय नेपाली संघ लगायत विभिन्न समाज, संघ, संस्था र समाजसेवीहरुलाई पनि आफ्नो सहयोग मर्जिङ नेपसक्स मार्फत दूतावासले अनुरोध गरेको छ ।
सहयोगको विवरण र सहयोग प्राप्त गर्ने विद्यार्थीहरुको विवरण पारदर्शी तवरले प्रकाशित गरिने दूतावासका प्रवक्ता शरदराज आरण द्वाराजारी विज्ञप्तिमा जनाइएको छ ।
सहकार्य र सहयोगको लागि नेपाली राजदूतावास, लण्डनको विशेष अनुरोध I
नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुसंग सम्पर्क गर्न, समस्यामा परेका र पर्नसक्ने विद्यार्थीहरुको विवरण तयार गर्न र सहयोगको लागि समन्वय गर्न यस राजदूतावासबाट युवा तथा विद्यार्थी सहयोग समिति गठन गरिएको र उक्त समितिमा Merging NepSocs का अध्यक्ष श्री पवन कंडेललाई संयोजक तोकिएको व्यहोरा यहाँहरु सबैमा अवगत भैसकेकै छ । यस राजदूतावासले युवा तथा विद्यार्थी सहयोग समितिको सहयोग लिई विद्यार्थीहरुसंग समन्वय गर्न, विवरणहरु अद्यावद्यिक गर्न, आवश्यक सहयोग संकलन गर्न र प्राथमिकता बमोजिम सहयोग उपलव्ध गराउने कार्यको लागि राजदूतावाससंग समन्वय गरी कार्य गर्न Merging NepSocs लाई तोकिएको व्यहोरा अनुरोध गरिन्छ । यस राजदूतावासको सुझाव बमोजिम Merging NepSocs ले COVID-19 का कारण विभिन्न समस्यामा परेका नेपाली विद्यार्थीहरुको विवरण संकलन गरिरहेको छ । त्यस्तै राजदूतावासमा सम्पर्क गर्ने अन्य विद्यार्थीहरुको विवरण राजदूतावासले पनि संकलन गरेको र दुवै विवरणहरुलाई एकीकृत गरी गम्भीर समस्यामा रहेका विद्यार्थीहरुलाई प्राथमिकता दिई Merging NepSocs मार्फत सहयोग उपलव्ध गराइने व्यहोरा अनुरोध गरिन्छ ।
नेपली विद्यार्थीहरुका समस्या समाधानकोलागि यस राजदूतावासले वेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको छ । वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीहरु भोकै रहनुपर्ने समस्या नहोस् भन्ने अभिप्रायले वेलायतमा रहनुभएका गैरआवासीय नेपाली संघ लगायत विभिन्न समाज, संघ, संस्था र समाजसेवीहरुमा सहयोगको लागि यस अघि नै अनुरोध गरिसकिएको सन्दर्भमा यहाँहरुले आफ्नो सहयोग Merging NepSocs मार्फत उपलव्ध गराईदिनु हुन हार्दिक अनुरोध गरिन्छ । यहाँहरुको सहयोगको विवरण र सहयोग प्राप्त गर्ने विद्यार्थीहरुको विवरण उपयुक्त समयमा पारदर्शी तवरले प्रकाशित गरिने व्यहोरा पनि अनुरोध गरिन्छ ।
साथै यस विषम परिस्थितिमा विद्यार्थीहरु लगायत सिंगो नेपाली समुदायमा सचेतना तथा सहयोगका लागि सदैव अग्रसर गैरआवासीय नेपाली संघ, यु=के= लगायत समस्त संघ, संस्था र समाजहरु एवं समाजसेवी महानुभावहरुमा हार्दिक अभार व्यक्त गर्र्दै Merging NepSocs लाई उल्लिखित कार्य गर्न दिइएको जिम्मेवारीमा वेलायतस्थित नेपाली जनसमुदायको सहकार्य र सहयोग उपलव्ध हुने विश्वास यस राजदूतावासले लिएको छ ।
मिति ः २०७६ चैत्र २४– ६ अप्रिल २०२०_






