दुरापदा सापकोटा, उपनियोग प्रमुख, नेपाली दूतावास अस्ट्रेलिया
कोरोना भाइरसको विश्वव्यापी संक्रमणले विदेशमा रहेका नेपालीहरु आत्तिएका छन् । नेपाल फर्कन पाए हुन्थ्यो भन्ने चाहना भएका नेपालीहरु धेरै छन् । अस्ट्रेलियामा रहेका धेरै नेपालीहरुको चाहना पनि यस्तै छ । तत्काल नेपाल जान सम्भव नभए पनि संयमता अपनाउँदै सुरक्षित रहन नेपाली दूतावास उपनियोग प्रमुख दुरापदा सापकोटाले अस्ट्रेलियामा रहेका नेपालीहरुसँग समक्ष आग्रह गरेकी छन् । उनले भनिन्, ‘सुरक्षित रहँदै समुदायलाई सहयोग गर्न दूतावास अनुरोध गर्छ ।’ केही समस्या परे दूतावासमा सम्पर्क गर्न सकिन्छ, कार्यालय समयमा दूतावासकै नम्बरबाट सेवा लिन सकिन्छ भने दूतावास बन्द भएको समयमा कर्मचारीको नम्बर दूतावासको वेभसाइटमा सार्वजनिक गरिएको छ । यो विषम परिस्थितिमा अस्ट्रेलियामा रहेका नेपालीलाई दूतावासले कसरी नियालेको छ भन्ने विषयमा लन्डन नेपाल न्यूजका लागि तक्दीर अधिकारीले नेपाली दूतावासकी उपनियोग प्रमुख दुरापदा सापकोटासँग गरेको कुराकानी–
० अप्ठ्यारामा परेका नेपालीलाई सहयोग गर्ने बजेट दूतावाससँग हुँदैन ?
– दूतावाससँग भइपरी आउने बजेट हुँदैन, त्यस्तो आइलागिहाल्यो भने काठमाडौंबाट मगाउनुपर्छ । हामीसँग नियमित शीर्षकअनुसारको बजेट मात्र हुन्छ । उद्दार र राहतका लागि भनेर छुट्टै मगाउनुपर्छ । त्यसका लागि हामीले सरकारसँग कुरा गर्दैछौं । लकडाउनको अवस्थाले गर्दा परराष्ट्र मन्त्रालय पनि व्यस्त होला, सहयोगका लागि यति बजेट आउँछ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन ।
० समस्यामा परेका विद्यार्थीलाई नेपाल फर्काउने योजना छैन ?
– तत्काल अप्ठ्यारामा परेका विद्यार्थीलाई अस्थायी बसोबासका लागि गैरआवासीय नेपाली संघले गरेको कामलाई हामीले सहयोग गरिरहेका छौं । यो चाहिँ तत्कालको समस्या समाधानका लागि मात्र हो, हामीले दीर्घकालीन योजना सोचिरहेका छौं, हामीले अस्ट्रेलियाको शिक्षा विभाग र शिक्षा प्रदायक संस्थाहरुसँग कुरा गरिरहेका छौं । कोर्ष ६ महिना पर सारेर कोही नेपाल जान चाहन्छन भने जान दिनुपर्छ, त्यत्तिबेलासम्म यातायात सहज भइसक्छ होला । यो हाम्रो प्रस्तावमा धेरै सकरात्मक छन् । हाम्रो यो प्रस्तावमा विद्यार्थीको पनि रुचि हुनुपर्छ । अहिले असहज परिस्थितिमा घर गएर, सहज भएपछि आए भइहाल्छ । सकिन्छ भने अझ हामीले चाहिँ एक वर्षको कोर्ष नेपालमै गरौं भन्ने प्रस्ताव गरेका छौं । नयाँ विद्यार्थी छन् भने एक वर्ष नेपालमै अध्ययन गर्ने र बाँकी पढाइका लागि अस्ट्रेलिया आउने व्यवस्था मिलाउन हामीले आग्रह गरेका छौं ।
० अहिले नेपाल जान सहज छ ?
– अहिले सामान्यरुपमा जान सकिँदैन, विशेष उडानमार्फत् नेपाल जाने हो । अस्ट्रेलियनहरु लिएर आउने विमानमा नेपालीलाई फर्काउन सकिन्छ भनिएको छ । धेरैले नेपाल फर्किने इच्छा देखाएका छन् । यस विषयमा हामीले काठमाडौंमा कुरा गरेका छौं । त्यसका लागि उच्चस्तरीय निर्णय हुनुपर्ने । त्यो निर्णय हामी फर्किरहेका छौं । सकरात्मक जवाफ आउनेवित्तिकै हामी नाम संकलन गरेर पठाउँछौं । यदि सकरात्मक निर्णय आयो भने धेरैले नेपाल फर्किने इच्छा देखाए भने यहीबाट चार्टर फ्लाइट गरेर पनि नेपाल फर्काउन सकिन्छ । तर, कतिजनाले फर्काने इच्छा देखाउँछन्, त्यो एकिन छैन ।
० भीसा सकिन लागेकाहरुलाई के व्यवस्था हुन्छ ?
– त्यसमा कुनै समस्या छैन । यसबारे हामीले यहाँको परराष्ट्र मन्त्रालयसँग यो समस्या आउनुभन्दा एक दुई दिनअघि नै कुरा गरिसकेका छौं । भीसाको कुनै समस्या हुँदैन, यस विषयमा विद्यार्थी, अस्थायी बसोबासको अनुमति भएकाहरुको हामी एकदमै लचकता अपनाउँछौं भनेका छन् । सबैको भीसाा एक्सटेन्ट गर्दिन्छौं भनेका छन् । विद्यार्थीको हकमा प्रोबाइडरमार्फत्, अरुले चाहिँ व्यक्तिगत रुपमा अध्यागमनमा सम्पर्क गरे भीसाा एक्सटेन्ट गर्दिन्छौं भनेका छन् । त्यत्ति मात्र होइन, भिटिजरका लागि आवेदन दिएकाहरुका लागि सहज वातावरण नबनेसम्मका लागि एक महिनासम्मका लागि भीसा एक्सटेन्ट गर्दिन्छु भनेका छन् । अर्थात् भीसाको समस्या हुँदैन, अस्ट्रेलियन सरकारबाट सयप्रतिशत एसोरेन्स गरिएको छ ।
० भीसा नेपालमा हुँदा सकिदैछ भने यहीबाट थपेर जानुपर्छ ?
– यस्तो भीसा यहीबाट सुरक्षित गरेर जानुपर्छ । विद्यार्थीको हकमा लामै भीसा हुन्छ, त्यसमा कुनै समस्या भएन । तर आफ्नो भीसा हेरेर जानुपर्छ ।
० अहिलेसम्म कति संक्रमित भए ?
– सातजना चाहिँ पक्का भएको छ, उहाँहरु घरमै आइसोलेसनमा बस्नु भएको छ, अस्पताल लैजानुपर्ने अवस्था आएको छैन । अहिलेसम्म प्राप्त जानकारीअनुसार जति नेपाली संक्रमित छन् ती सबै विद्यार्थी हुन् । संक्रमित हुनेहरु एक ठाउँ बस्नेहरु हुनुहुन्छ । तास्मानियाका एकजना स्वास्थ्यलाभ गरेर घर फर्किसक्नु भएको छ ।
० यात्रामा हो कि कार्यस्थलमा उनीहरु संक्रमित भए ?
– त्यो एकिन भएन, काम गर्ने ठाउँ वा सार्वजनिक यातायातमा सरेको हुनसक्छ ।






