तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियामा आज मध्यान्नदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द (लक डाउन) गर्ने घोषणा गरिएको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संक्रमण फैलिनबाट रोक्न लक डाउन गर्ने निर्णय गरेको हो । सरकारले जारी गरेको स्वास्थ्य चेतावनीलाई नागरिकले गम्भीरतापूर्वक नलिएको भन्दै सरकार अत्यावश्यकबाहेक सम्पूर्ण सेवा (लक डाउन) मा पुगेको बताइएको छ ।
लक डाउनमा के गर्न पाइँदैन ?
संघीय सरकारको आइतबार बसेको बैठकले गरेको निर्णय अनुसार अब नाइट क्लब, मनोरञ्जन स्थान, फिल्म हल, क्यासिनो, इन्डोर स्पोर्टस सेन्टर, जीमखाना बन्द हुनेछ भने रेस्टुरेन्ट र क्याफेहरुमा बसेर खान पाइँदैन । ड्राइभथ्रुबाट किन्न प्रोत्साहन गरिएको छ । धार्मिक सभा गर्न पाइँदैन, मन्दिर, चर्च र मस्जिदमा समेत भेला हुन पाइने छैन । मृत्यु संस्कारमा जाँदा एकजना व्यक्ति ४ वर्गमिटरको परिधिमा बस्नुपर्ने छ । केही अन्तर राज्य यात्रामा रोक लगाइएको छ ।
स्कुल विदा नजिकिएकाले छुटी दिइएको छैन, अभिभावकले बच्चा अनिवार्य स्कुल पठाउनुपर्छ भन्ने छैन । यद्यपि क्यानभेरा र भिक्टोरिया राज्यले मंगलबारदेखि नै विदा दिने घोषणा गरिसकेका छन् । तास्मनिया, साउथ अस्ट्रेलिया र नर्दन टेरोटोरीले दुई साताको क्वारेन्टाइन राखेका छन् । यो राज्यमा प्रवेश गर्ने जोकोही १४ दिन आइसोलेसनमा बस्नुपर्छ ।
अस्ट्रेलियामा १ हजार ६ सय २९ जना कोरोना भाइरसको संक्रमित छन् । सबैभन्दा बढी संक्रमित न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यमा छन् । हिजो आइतबार मात्र २० जना संक्रमित थपिएका छन् भने अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ । ८८ जनाले स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् भने १ हजार ५ सय ३४ जनाले स्वास्थ्य लाभ लिइरहेका छन् ।






