सिड्नीमा होली म्युजिकल कन्सर्ट हुँदै

तक्दीर अधिकारी
सिड्नी । एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले सिड्नीमा होली म्युजिकल कन्सर्ट आयोजना गर्दैछ । आगामी मार्च ६ मा मराना अडिटोरियम हर्सभिलमा हुने उक्त कार्यक्रमका लागि पप गायिका प्रश्ना शाक्य, लोक गायक रविराज शाह र भोजपुरी गायक सुनिल पण्डित नेपालबाट आउने निश्चित भएको संस्थाका अध्यक्ष प्रविन चौरासियाले जानकारी दिए ।

अध्यक्ष चौरासियाले दिएको जानकारी अनुसार अस्ट्रेलियामा होली म्युजिकल कन्सर्ट सन् २००८ देखि आयोजना गर्न थालेको हो । तर हल बुक गरेर नेपालबाट कलाकार ल्याएर होली मेला आयोजना गर्न थालेको चाहिँ गत वर्षदेखि हो ।

गत वर्ष संकलन भएको नगद नेपालका स्कुलमा खर्च गरिएको थियो । यस वर्ष संकलन भएको ५० प्रतिशत रकम गत महिना न्यू साउथ वेल्स राज्यमा भएको आगलागी नियन्त्रणमा संलग्न फायर फाइटर र पीडितलाई काउन्सिलमार्फत उपलब्ध गराउने योजना छ । प्रायोजकबाट पर्याप्त रकम उठिनसकेकाले यसको घोषणा अहिले नै गरिएको छैन, अध्यक्ष चौरासियाले भने, ‘करिब ७ सय नेपाली सहभागी हुने अपेक्षा गरिएको कार्यक्रममा सभ्य भएर सबैले सबैलाई रंग लगाउने, होली गीतहरुमा रमाउने र होलीका अवसरमा नेपालमा बनाइने परम्परागत खानाहरु पनि राखिने छ ।’

कार्यक्रमको लागि टिकट दर १५ अस्ट्रेलियन डलर राखिएको छ । नेपालको तराई भूभागको संस्कृति बचाउन हरेक वर्ष छठ, होली, इद जस्ता पर्वहरु मनाउने गरेको अध्यक्ष चौरसियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *