राज्यको ढुकुटीबाट २४ लाखको रक्सी !

काठमाडौं २२ चैत । ‘सित्तैमा पाए अलकत्रा खाने’ आहानै छ । यही आहानलाई चरितार्थ गरेका छन्, पर्यटन बोर्डका कर्मचारीले ।

NTBअख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा बोर्डका कर्मचारीले सरकारी ढुकुटीबाट २४ लाख रुपैयाँभन्दा बढीको रक्सी खाएको उल्लेख गरिएको छ ।

बोर्डका सञ्चालक तथा पदाधिकारीहरुले २४ लाख रुपैयाँको रक्सीको विल बनाई भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

भ्रष्टाचारीका अनेक रुप

अख्तियारका अनुसार पर्यटन बोर्डमा सामान खरिद नै नगरी विल बनाएर भुक्तानी गरी साढे ४१ लाख झ्वाम पारेको भेटिएको छ । त्यसैगरी कार्यक्रम नै नराखी बिलमात्रै बनाएर साढे ७ करोड रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।

त्यस्तै सवारी भाडामा लिएको भनेर नक्कली बिल बनाई २ करोड रुपैयाँ सकिएको छ । अन्तराष्ट्रिय व्यापार मेलाका नाममा साढे ८ लाख रुपैयाँ सिध्याइएको छ ।
व्यक्तिगत खर्चको बिल बनाएर साढे ४ करोड रुपैयाँ हिनामिना गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी बैंक खाताबाट निकालेर १ करोड ९० लाख रुपैयाँ, नक्कली हवाइ टिकट पेस गरेर ६१ लाख रुपैयाँ र कर्मचारीका नाममा चेक काटेर ८० लाख ५२ हजार रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ ।

आर्थिक विनियमावलीलाई आफ्नो अनुकूल संशोधन गरेर ६२ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ ।

रकम हिनामिनाका शीर्षकहरू

क्र.सं. शीर्षकहरू बिगो रकम
१. कार्यक्रम नगरी बिलमात्र राखी रकम हिनामिना गरेको ७३९२९५४२
२. सामान खरिद नगरी बिलमात्र पेश गरी हिनामिना गरेको ४१६२२०३३
सवारी भाडाको बिलमात्र पेश गरी हिनामिना गरेको १९६४२४१३
४. मदिरा खरिद गरेको विल संलग्न गरी हिनामिना गरेको २४७७१०५
५. अन्तर्राष्ट्रिय मेलाको नाममा हिनामिना गरेको ८६४२२५
६. व्यक्तिगत कार्यमा खर्च भएको बिल पेश गरी हिनामिना गरेको ४६४९४८७९
७. बैंक खाताबाट रकम निकाली हिनामिना गरेको ११९०६८०८०
८. बैंक खाताबाट रकम निकाली हिनामिना गरेको २७९९९५५५
९. नक्कली हवाई टिकट पेश गरी हिनामिना गरेको ६१३९६१०
१०. कार्यालय सहायक र कर्मचारीको नाममा चेक काटि हिनामिना गरेको ८०५२६४१
११ बोर्डमा आर्थिक विनियम संसोधन गरेर अनियमित खर्च अनुमोदन गरी स्वीकृत गरी हिनामिना गरेको ६२८२७७
  जम्मा बिगो रकम ३४६९१८३६१