‘मायालाई के दिऊ म’ भन्दै सुनिता दुलाल सिड्नीमा

तक्दीर अधिकारी
सिड्नी । नेपाली लोक गीतका पारखीहरुका लागि सुनिता दुलाल परिचित नाम हो । गायनका अलवा मोडलिङ र व्यवसायिक क्षेत्रमा पनि त्यत्तिकै परिचित सुनिता आउँदो फेब्रुअरी ७ मा सिड्नीमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछिन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अष्ट्रेलिया शाखाले सिड्नीमा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा उनी सहभागी हुनेछिन् । दर्जनौं नेपाली लोक गीत तथा तीज गीत उनले गाइसकेकी छन् । ‘मायालाई के देऊ म’ उनको चर्चित लोकगीत हो । जुन लामो समयसम्म नेपाली जनजीब्रोमा झुण्डिरह्यो ।

सांस्कृतिक कार्यक्रमसँगै  उक्त दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान न्यू साउथ वेल्स (एनएसडब्लु) उपशाखा गठन हुने अष्ट्रेलिया शाखाका सहसचिब अर्जुन खनालले बताए । कार्यसमितिमा मनोनित पदाधिकारी र सदस्यको सपदग्रहण पनि सोही दिन हुने सहसचिव खनालले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा गायिका दुलाललाई गायक अर्जुन सुनामले साथ दिने छन् । कार्यक्रम आगामी माघ २४ अर्थात् फेब्रुअरी ७ तारिखमा सिड्नीको रक्डेलस्थित थर्ड आइ रेस्टुरेन्टमा हुनेछ । गायिका दुलाल र गायक सुनामका साथमा प्रतिष्ठान अष्ट्रेलिया शाखाका अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहने खनालले बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष मन केसी, एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङलगायतको सहभागिता रहने उक्त कार्यक्रममा सिड्नीमा रहेर विभिन्न पेशा व्यवसाय गरिरहेका नेपाली लोक दोहोरीका पारखीहरुलाई सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *