तक्दीर अधिकारी/अनु लामा
सिड्नी । मगर समाज अस्ट्रेलियाले आयोजना गरेको माघे संक्रान्ति मेला भव्य रुपमा मनाइयो । २६ जनवरी आइतबारका दिन सिड्नीको अर्लउडस्थित बेभ्यु एभिन्युमा रहेको गोउघ वेटलाम पार्कमा सम्पन्न कार्यक्रम दिउसो ३ बजे को पूजा पछि कार्यक्रम सुरु भएको थियो । मगर समाज अस्ट्रेलियाका अध्यक्ष अनिल थापा मगरले स्वागत मन्तब्य दिदै माघे संक्रान्तीमा गाउँघरमा यसरी नै मेला लाग्ने गरेको बताए । 
पञ्चे बाजाको रमाइलोबाट सुरु भएको कार्यक्रमको मुख्य आकर्षक इन्द्रेनीकी चर्चित गायिका खिमा रोका मगरको बेजोड प्रस्तुतिले सभागी लाई ततायो । उनको गीतमा सबै दर्शकले भरपूर नाचेर मनोरञ्जन लिएका थिए ।
कार्यक्रममा मगर संस्कृति झल्किने गीत संगीति, पोशाक, खानाको स्टल र सांस्कृतिक खेल प्रदर्शन गरिएको थियो । व्यवसायिक स्टलसमेत राखिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेम्फाका अध्यक्ष अरुणकुमार तामाङले विदेशमा रहेर पनि नेपाली समुदायले संस्कृतिलाई बचाइरहेको बताए । नेपालमा जनताको स्तरबाट संस्कृति जर्गेना गरे पनि राज्यको तर्फबाट सहयोग नभएको गुनासो उनको थियो । ” हामी विदेशमा रहे पनि नेपाली पहिचान र अधिकारका लागि हामीले आवाज उठाइरहेका छौं” ।
मगर समाज अष्ट्रेलियाका सचिव सुदर्शन थापा मगरले माघ संक्रान्ति मेलामा सबै सभागी लाई धन्यवाद दिदै भने “सन् २००९ तिर हामी केही जम्मा हुन्थ्यौं, मगर समुदाय अस्ट्रेलियामा वृद्धि हुन थाल्यो । त्यसपछि हामीले हाम्रो संस्कृति पनि बचाउनुपर्छ भनेर लाग्न थाल्यौं । सन् २०१० देखि हामीले माघे संक्रान्तिलाई विदेशी भूमिमा चिनाउनुपर्छ भनेर हामीले मनाउन थालेका हौं । माघे संक्रान्ति जहिले पनि पार्कमा आयोजना हुन्छ । किनभने गाउँले परिवेश हामीले पार्कमा मात्र भेट्छौं “।
कार्यक्रममा मगर संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम साथै , खेलकुद प्रतियोगिता पनि राखिएको थियो । दौडिएर राजा बन्ने तथा छेलो फ्याक्ने खेल भएका थिए । छेलो हान्ने प्रतियोगिता केशब पुनले जिते भने ३५ वर्षमाथिका उमेर समूहको दौड प्रतियोगिता चाहिँ नन्द गुरुङले जिते ।
सांस्कृतिक कार्यक्रम दुर्गा थापा, सरिस्ता गर्बुजाले सञ्चालन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि निम्फाका अध्यक्ष अरुणकुमार तामाङ थिए भने विशेष अथिति गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङ थिए । एनआरएनए पूर्व उपाध्यक्ष नन्द गुरुङ, नेपाल्जि कम्युनिटीका नारायण प्रधान, गोरखा नेप्लिज कम्युनिटीका जीतमान लिम्बू, इन्द्र तुलाचन, इन्द्र छन्त्याल तमु समाजका अध्यक्ष दिनेश गुरुङ, सुजाता बस्नेत, एनआरएन एनएसडब्लुका सहसचिव तीर्थराज कार्कीलगायतको सहभागिता थियो ।
यस्तै एनआरएन उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङले हामी कला संस्कृतिलाई जीवन्त राख्न हामी सबैको एउटै धारणा हुनुपर्छ । एकअर्कामा सहयोगको भावना भए हामीले हाम्रो संस्कार र संस्कृतिलाई जीवन्त राख्न सक्छौं ।एनआरएन पूर्वउपाध्यक्ष नन्द गुरुङले माघे संक्रान्तिको सबैलाई शुभकामना दिए । उनले भने, आफ्नो संस्कृति झल्कने पहिरान लगाएका छन्, आफ्नो खानाको परिकार पर्बर्धन गरेका छन । हाम्रो संस्कार र संस्कृतिप्रति नयाँ पुस्तालाई पनि संलग्न गराउनुपर्ने उनको भनाइ थियो ।
विस्तृत कार्यक्रम भिडियोमा हेर्नुस् ।
https://www.facebook.com/londonnepalnews/videos/219986989020232/?t=5419








