गौर बजार निषेधित क्षेत्र, रौतहटमा प्रदर्शन रोकिएन

रौतहट, २१ चैत्र । रौतहटमा सेवा केन्द्र विस्तार गर्ने निर्णय सरकारले फिर्ता लिएपनि प्रदर्शन रोकिएको छैन । सरकारले निर्णय फिर्ता लिँदा पनि विहानैदेखि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । विहानैदेखि गौरवासी चोक चोकमा भेला भएर प्रदर्शनमा उत्रेपछि स्थानीय प्रशासनले गौर बजारलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
गौर कारागारदेखि पूर्व भन्सार गेटसम्म विहान ८ देखि साँझ ५ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो । पाँच जनाभन्दा बढी मानिसलाई एक ठाउँमा उभिन पनि रोक लगाइएको छ ।
गौरका अतिरिक्त उत्तरी क्षेत्रका जनतालाई सुबिधा दिने उद्देश्यले चन्द्रनिगाहपुरमा पनि सरकारी कार्यालयका सेवा केन्द्र विस्तार गर्ने निर्णयविरुद्ध गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले हिजो राति अबेर निर्णय नै फिर्ता लिएको थियो । रौतहटका उत्तरी भेगका वासिन्दालाई पायक पर्ने गरी कार्यालय खोल्न लागिएकामा गौरवासी विरोधमा उत्रेका हुन् ।
त्यसक्रममा भएको प्रदर्शनमा हिजो दिउँसो प्रहरीले चलाएको गोली लागि एक जना गम्भीर घाइते भएका थिए । घाइते हुने मुडवलवा गाविसका विद्यानन्द यादव हुन् । सदरमुकाम गौरको बडेरुवा पुलमा रहेको प्रहरी बिट जलाउन खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रदर्शनकारी र प्रहरी गरी २० जनाभन्दा बढी घाईते भएका छन् ।
सरकारले चन्द्रनिगाहपुर आसपास गाबिसका बासिन्दालाई ४२ किलोमिटर टाढा रहेको सदरमुकाम गौरमा सेबा लिन जान असुबिधा भएको भन्दै चन्द्रनिगाहपुरमा दुई सरकारी कार्यालयको सेवा केन्द्र राख्ने निर्णय गरेको थियो ।