तक्दीर अधिकारी
सिड्नी । तमु ल्होछारको अवसरमा भोलि सिड्नीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन चर्चित गायिका मिलन नेवार सिड्नी आइपुगेकी छन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी समाजका महासचिव अर्जुन गुरुङले दिए ।
कलाकारलाई रिसिभ गर्न एयरपोर्टमा समाजका संस्थापक अध्यक्ष प्रेमकाजी गुरुङ, गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष तथा न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य परिषद्का संयोजक नन्द गुरुङ, तमु समाजका अध्यक्ष दिनेश गुरुङ, उपाध्यक्षद्वय भोज गुरुङ र जीवन गुरुङ, सचिव हिउपति गुरुङ, कोषाध्यक्ष डा. समिता गुरुङ, आईटी सेक्रेटरी प्रतिभा गुरुङ र नारायण गुरुङलगायत समाजका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति थियो ।
तमु समाजले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन सिड्नी आइपुगेका कलाकारलाई स्वागत गर्न पाउँदा एकदमै खुशी लागेको प्रतिक्रिया एनआरएन उपाध्यक्ष तथा एनएसडब्लुका पूर्व संयोजक नन्द गुरुङले दिए । उनले भोलिको कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण सिड्नीवासी नेपाली समुदायसँग अनुरोध गरे ।
महासचिव अर्जुन गुरुङका अनुसार कार्यक्रम माराना अडोटेरियममा आयोजना हुनेछ । कार्यक्रममा नेपालको परम्परागत खाना, सांस्कृति भेषभुषाको प्रदर्शन तथा सांगीतिक कार्यक्रमलगायत विविध मनोरञ्जनका साथ मनाइनेछ ।
संस्थापक अध्यक्ष प्रेमकाजी गुरुङको पालादेखि सिड्नीमा ल्होछार सन् १९९६ देखि मनाउँदै आएको र तमु ल्होछार विशेष हर्षका साथ आफ्नो पारम्परिक नयाँ वर्षलाई स्वागत गर्न सम्पूर्ण अस्ट्रेलियाबासीमा तमु समाज सिड्नीले आमन्त्रण गरेको छ ।






