तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियामा भिजिट नेपाल २०२० को उद्घाटन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आउने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङले दिएको जानकारी अनुसार अस्ट्रेलियामा भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन सिड्नीमा मंगलबार सुरु हुुँदैछ । त्यसको तयारी लगभग पूरा भएको छ । गुरुङका अनुसार ७ जनवरी मंगलबार बिहान ७ बजेबाट कार्यक्रमहरु हुने छन ।
महावाणिज्यदूत दिपक खड्का को संयोजकत्वमा सिड्नीको कार्यक्रम सम्पन्न हुनेछ । संयोजक गुरुङका अनुसार कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन पिटस्ट्रिट सिड्नीमा अन्तिम फलोअप बैठक जनवरी १ मा बसेको थियो । बैठकमा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङ, महावाणिज्यदूत दिपक खड्का , एनआरएनए ओसियना संयोजक होम पाण्डे, एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अनिल पोखरेल, आइसीसी सदस्य अरुणकुमार ठाकुर, एनआरएनए भिजिट नेपाल २०२० ओसियना संयोजक दिनेश पोखरेल, एनआरएनए अस्ट्रेलिया नारी निकुञ्ज (वेमन फोरम) संयोजक सन्ध्या साह, सचिव स्वीकृति भट्ट, एनएसडब्लुका सहसंयोजक डा. समिता गुरुङ, अञ्जना बस्नेत कार्की र राजु मानन्धरलगायतको बैठकमा सहभागिता थियो ।

कार्यक्रमअनुसार जनवरी ७ तारिख बिहान ७ बजे सबैले फेसबुकमा भिजिट नेपाल २०२० को लोगो राखेर प्रोफाइल अपडेट गर्ने छन् । साढे ७ बजेदेखि सिड्नीका सबबबाट नेपाली समुदाय भेला भएर समूहमा फ्लायर वितरण गरिनेछ ।
सिड्नीका मुख्य सबबहरुमध्ये साउथ वेस्ट क्षेत्रमा लिभरपुलबाट, वेस्ट सिड्नीको ब्लकटाउन, नर्थवेस्टका लागि पारामाटा, नर्थ सिड्नी एरियाका लागि होन्सवी र नर्दन बिचेच र साउथसाउथ इस्टका लागि रकडेल र हर्स्ट्भिलबाट नेपाली समुदाय सांस्कृतिक पोशाकमा भेला भएर फ्लायर वितरण गर्दै सिटीमा १० बजे कस्टम हाउस (३१ आलफ्रेट स्ट्रिट सर्कुलर कि) मा जम्मा हुनेछन् । ११ बजे आयोजना हुने उक्त कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराई सहभागी हुनेछन् । त्यसपछि शान्तिपूर्ण पदयात्रा कस्टम हाउस बाट ओपेरा हाउस सम्म सुरु हुनेछ ।उक्त कार्यक्रममा अस्ट्रेलियाका राजनीतिक र उच्च पदाधिकारीको सहभागिता रहनेछ ।
ओपेरा हाउस पुगेर अपरान्हको कार्यक्रम सकिनेछ भने साँझ ६ बजेदेखि ९ बजेसम्म आमन्त्रण गरिएका विदेशी पाहुना र ट्राभल्स एजेन्सीलाई रात्रिभोजको आयोजना गरिएको छ ।






