बन्दुकधारी र वकिल मारिए

स्तनबुल १८ चैत । टर्कीको इस्तानबुलस्थित एक अदालतमा बन्धक बनाइएका सरकारी वकिललाई मुक्त गर्ने क्रममा दुई बन्दुकधारी र बन्धक वकिल मारिएका छन् । प्रहरीको विशेष बल अदालत परिसरमा प्रवेश गरे लगतै गोली चलेको आवाज सुनिएको थियो । सन् २०१३ मा सरकार विरोधी प्रदर्शनका क्रममा एक युवकको मृत्यु भएको मामिलाको जाँच गरिरहेका अभियोजक सरकारी वकिल मेहमेत सेलिम किराजलाई अदालत परिसर भित्रै बन्धक बनाइएको थियो ।
उक्त घटनामा प्रतिबन्धित एक माक्र्सवादी क्रान्तिकारी संगठनको हात रहेको बताइएको छ । उक्त संगठनले अनलाइन मार्फत पोष्ट गरेको सन्देशमा आफ्ना माग पुरा नगरे अभियोजकको हत्या गर्ने बताएको थियो । इस्तानबुलका प्रहरी प्रमुख सेलामी अल्तुनोकले प्रहरी कारबाहीमा दुई बन्दुकधारीको मृत्यु भएको बताए ।
साथै, बन्धक बनाइएका किराज पनि गम्भीर घाइते भएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए । बन्धक वकिललाई छुटाउन बन्दुकधारी व्यक्तिसँग प्रहरीले ६ घण्टासम्म वार्ता गर्ने प्रयास गरेपनि अन्ततः अदालत परिसर भित्र गोली चलेको आवाज सुनिएपछि प्रहरीको विशेष दस्ता अदालत भित्र प्रवेश गरेको थियो ।