तक्दीर अधिकारी
सिड्नी । नेप्लिज एसोसिएसन अफ क्विन्सलाण्डको आयोजना तथा गैरआबासीय नेपाली संघ अस्ट्रेलियाको संयोजनमा यही सेप्टेम्बर २८ र २९ तारिख ब्रिसबेनमा “हाम्रो संस्कृति हाम्रो पहिचान, गरौ प्रबर्द्धन, सम्बर्द्धन अनि सम्मान” नारा सहित अस्ट्रेलियाब्यापी नेप्लिज नृत्य प्रतियोगिता हुँदैछ । न्यूजिल्याण्डसमेत सहभागिता रहने यो कार्यक्रममा अस्ट्रेलियाको ताज्मानियाबाहेक सबै राज्यबाट सहभागिता रहनेछ र प्रतियोगितामा नेपालका बिभिन्न जातजाति, भेषभुषा, कला र लोक संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत हुनेछन् ।
टाइटल स्पोन्सर एक्सपोर्ट एजुकेशन एन्ड भिसा सर्भिस रहेको यो प्रतियोगितामा एकल, युगल र समूह गरी जम्मा ३ प्रकारका नृत्यहरुको प्रस्तुति रहने छ । प्रतियोगितामा १७ वटा एकल, ९ जोडी र १० समूह नृत्यहरु छनौटमा परी प्रतिस्पर्धाका लागि तयारीमा छन् । आ-आफ्नो नृत्य प्रस्तुत गर्ने क्रममा प्रतियोगीले आफुले प्रस्तुत गर्ने नृत्य र यससंग सम्बन्धित साँस्कृतिक महत्वको बारेमा बढीमा २ मिनेटको जानकारी प्रदान गर्नुपर्ने छ ।
दुइ चरणमा हुने यो प्रतियोगितामा उत्कृस्टताको आधारमा प्रत्येक समुहबाट पाँच नृत्य दोश्रो चरणमा जानेछन । एकल नृत्यमा प्रथमलाई ८००, द्धितियलाई ५०० तथा तृतियलाई ३००, युगल नृत्यमा प्रथमलाई १२००, द्धितियलाई ७०० तथा तृतियलाई ४०० र समूहतर्फ प्रथमलाई १६००, द्धितियलाई ९०० तथा तृतियलाई ५०० डलर नगद पुरस्कारको ब्यबस्था छ ।

प्रतियोगितामा चर्चित कोरियोग्राफर, कथ्थक डान्सर तथा कला प्रशिक्षक सुबिमा श्रेष्ठ मुख्य जजको रुपमा रहनु हुनेछ । सन् २००९ देखि ब्रिसबेनमा शुरु भएको उक्त प्रतियोगिताको पाँचौ शृंखलाको रुपमा संचालन हुन गइहेको यो प्रतियोगिता प्रत्येक दुइ बर्षमा आयोजना गर्ने गरिएको छ ।
प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई खान बस्न र हवाई टिकटको समेत ब्यबस्था गरिएको आयोजक कमिटिका संयोजक डा केशब शर्माले जानकारी गराउनु हुदै यस कार्यक्रमको मुख्य उद्धेस्य अस्ट्रेलिया र न्यूजिल्याण्डका दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालप्रतिको माया जगाउनु र नेपाली कला, संस्कृति, भाषा, साहित्य, जातजाति, भेषभुषा, नेपाली लोक गीत संगीत लगायत बिबिध बिषयहरुको जानकारी गराउनु पनि रहेको बताउनु भयो ।






