काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट उपचार गरी आज स्वदेश फर्कदैछन् । सिंगापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम छ । उनी मध्यान्ह साँढे १२ बजे काठमाडौं आईपुग्ने सचिवालयले जानकारी दिएको छ ।
मृगौलासम्बन्धी एन्टिबडीको उपचारका लागि प्रधानमन्त्री पाँच भदौमा सिंगापुर गएका थिए । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । उनको सो अस्पतालमा करिव दुई सातासम्म मृगौलासम्बन्धी एन्टिबडी घटाउनका लागि प्लाज्मा फेरेसिस उपचार गरिएको हो ।
उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा दुईपटक छलफल समेत गरेका थिए ।
प्रधानमन्त्रीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल सिंगापुर पुगेका छन् । दुवै जना प्रधानमन्त्री ओलीसँग स्वदेश फर्कंदैछन् ।






