तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको युवा संयोजक पदमा राजकुमार अधिकारीले उम्मेदारी दिने घोषणा गरेका छन् । अधिकारी जापान नागोयाका व्यवसायी हुन् । ‘यदि आफू युवा संयोजक पदमा चयन भए एनआरएनए जापानको प्रत्येक क्षेत्रलाई समेटेर युवालाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको अधिकारीले भने, ‘जापानमा सिकेको सिप र आर्जन गरेको धन जन्मभूमिमा खन्याउने छु ।’
अधिकारीले जापानको विभिन्न स्वयमसेवा संस्थामा रहेर काम गरेका छन् । जापानमा सुनामी आउँदा नेपाली झन्डा बोकेर जापानीलाई सहयोग गर्ने उनै अधिकारी थिए, जो जापानमा प्रत्येक वर्ष अपाङ्गता भएकालाई सहयोग गर्ने निजोयोन जिकान तेरेवी संस्थामा बसेर काम गरिरहेका छन् । एनआरएनए जापानले नागोयामा आयोजना गरेको फेस्टिबलमा राजकुमारले निर्वाह गरेको भूमिका सम्झना लायक छ भन्नेहरु एनआरएन जापानमा धेरै छन् ।
एनआरएनए युवाको हक हितको लागि सदैव बुलन्द आवाज उठाउने व्यक्तिको परिचय बनाएका अधिकारी नागोयादेखि केन्द्रसम्म सशक्त र युवालाई जुझारु बनाउन उनले महत्वपूर्ण भूमिका खेलेका छन् । इमान्दार र स्वच्छ छवी भएका अधिकारी सबैलाई माया र सम्मान गर्ने तथा जिम्मेवारीबाट पछि नहट्ने स्वभावका छन् ।
आफ्नै नाममा गैरसरकारी संस्था खोलेर उनले नेपालको विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराएका थिए । उनको नाममा रहेको संस्था हेल्पिङ हेन्डले नेपालमा भूकम्प जाँदा विभिन्न तवरले सहयोग उपलब्ध गराएको थियो । धादिङ समाज जापानलाई अहिलेको अवस्थासम्म ल्याउन अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
धादिङ, गंगाजमुना गाउँपालिकामा जन्मेका अधिकारी सन् २००७ देखि जापानमा छन् । सन २०१० देखि नै आफ्नो पेशा व्यवसायका साथ सामाजिक काममा क्रियाशील अधिकारी एनआरएन जापानको वर्तमान कार्यसमिति सदस्य हुन ।
जापानका विभिन्न सामाजिक संस्थामा स्वयमसेवा गरेका अधिकारीले जापानमा रहेका नेपाली विद्यार्थी, कुक र अन्य विभिन्न भिसा स्टाटमा रहेका व्यक्तिको सेवामा निरन्तरतर लागिरहेका छन् । गैरनाफामूलक संस्थाको माध्यमबाट नेपालमा आर्थिक र विविध सहयोगमा जुटिरहेका अधिकारी, जिम्मेवार पदमा रहेर थप जिम्मेवारीपूर्ण काम गर्न आतुर छन् । त्यसैले एनआरएन जापानको युवा संयोजक पदमा उम्मेदवारी दिएको उनी बताउँछन् ।







