अवरोध भएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अर्काे बैठक साउन १५ गते बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको सभामुख कृष्ण बहादुर महराले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही गोलीकाण्ड लगायतका घटनाको सत्य छानबिन गर्न माग राख्दै बैठक सुरु भएलगत्तै सदनमा नाराबाजी सुरु गरेका थिए । सभामुखले उक्त मागबारे सरकारको ध्यानाकर्षण गराइसकेकोले सदनमा अवरोध नगर्न आग्रह गरेका थिए । तर कांग्रेस र राजपाका सांसदहरुले उठेर नाराबाजी गर्न नरोकेपछि सभामुख महराले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

सदनमा प्रतिपक्षीले गरेको नाराबाजीको विरोधको आवाज भिडियो लाइभमा सुनाइएको थिएन । सभामुखले बोल्दा मात्रै माइक खोलिएको थियो । असार २५ गतेको बैठकमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ छुट्टा छुट्टै घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै रोष्टममा नाराबाजी गरेका थिए ।

विरोधका बाबजुत सभामुखले कार्यसुची अगाडि बढाउदै सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव बढ्न अनुमति दिएका थिए । त्यसपछि अर्को बैठक असार ३० गते अपरान्ह १ बजेका लागि बैठक बोलाईएको थियो ।

संघीय संसद सचिवालयले बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएको भन्दै सूचना टासेर ८ गतेलाई सारेको थियो । साउन ८ गते भने बाढी पहिरो सम्बन्धी विशेष प्रस्ताव माथि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *