काठमाडौं– प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकार वार्ताको पक्षमा नदेखिएको आरोप लगाएका छन् । सरकारले देशलाई जबरजस्त युद्धमा धकेल्न खोजेको आरोप समेत लगाएका छन् ।
वार्ताको प्रचार गरेर सरकार आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार, हत्या र झूटा मुद्दा लगाएर धरपकडमा उत्रिएको भन्दै विप्लवले सरकार शान्ति, समृद्धि र विकासको पक्षमा नरहेको दाबी गरेका हुन् ।
‘एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कातिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झूठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जबरजस्त युद्धमा धकेली जनतामाथि शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढावा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ’, विप्लवको विज्ञप्तिमा उल्लेख छ ।
उनले पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा नगरे पार्टीले योजनावद्ध प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।






