तक्दीर अधिकारी
सिड्नी । आ–आफ्ना रचना पाठ गरी पर्थमा २०६ औं भानुजयन्ती मनाइयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ च्याप्टर र नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया (नावा) को संयुक्त आयोजनामा गत आइतबार भानु जयन्ती मनाइएको हो ।
ढिलो गरी प्राप्त समाचारअनुसार कार्यक्रममा स्थानीय साहित्यकारहरुले आ–आफ्नो रचना पाठ गरेका थिए । साहित्यकार गणेश घिमिरे, निजर क्षेत्री, दीपक सुवेदी, सन्तोष लम्साल, डा. मणि पनेरु, चुणामणि लामिछाने, शेखर घिमिरे, देवकी थानी, रुक्मिणी अर्याल, लक्ष्मी सापकोटा, मनिष भट्टराई, रिजा प्रधानले रचना पाठ गरेका थिए ।

एलबी क्षेत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उनले कविताको भाषामा एकरुपता हुनुपर्नेमा जोड दिए । नावाका अध्यक्ष मणि पनेरुले पर्थको भाषा पाठशाला तथा भानु जयन्तीबारे बोलेका थिए । उनले भाषा पाठशालामा हाल ७० बालबालिका अध्ययन गरिरहेको र पर्थको डायस्पोरा साहित्यले संसारभरि नै छुट्टै स्थान बनाउन सफल रहेको दाबी गरे ।
रिजा प्रधानले सञ्चालन गरेको कार्यक्रममा अनेसास पर्थ च्याप्टरका सहकोषाध्यक्ष लक्ष्मी सापकोटाले स्वागत मन्तव्य, नेपाली पर्थ मन्दिरका अध्यक्ष यादव शर्माले शुभकामना मन्तव्य र नावाका सदस्य चुडामणि लामिछानेले बालबालिकालाई भाषा र साहित्यामा जोड दिए । उनले ५०१ डलरको पुरस्कार स्थापनाका लागि आफू तयार रहेको कार्यक्रममा बताए । अनेसास पर्थका अध्यक्ष निरज क्षेत्रीले सहभागीलाई धन्यवाद दिँदै कार्यक्रमको बिट मारेका थिए ।






