सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पे्रसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने स्पष्ट पारेका छन् ।
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको स्पष्ट पारेका हुन् ।
प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने बताए । उनले सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क गरे । मन्त्री बासकोटाले अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा सञ्चार जगतले सम्प्रेषण गरिनै रहेको भन्दै व्यङ्ग्य गरे ।
उनले भने “प्रेस चलेकै छन् एकदम राम्ररी । एकदम राम्रोसँग चलिरहेका छन् । र सबैले आफूलाई लागेको कुरा भएपनि नभएपनि पुष्टि भएपनि नभएपनि गजबले गरि राख्न पाउनुभएको छ । त्यसैले यो कुरै छैन जस्तो लाग्छ मलाई । एकदम स्वतन्त्र छ । ”
सरकारले समानुपातिक विज्ञापन प्रणाली लागु गरेपछि अहिले दिँदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताए ।
उनले भने, “लोककल्याणकारी विज्ञापन दिनै पर्छ भन्ने चाही के छ ? अप्ठ्यारो के पर्यो भने विपी कोइरालाको पालामा सुरु भएको । अब झिकिदिउँ भने फेरी अथ्र्योकै पर्ला भनेर कायम राखेको । तर समानुपातिक विज्ञापन प्रणाली आएपछि यो रहने छैन । किनभने डबल पर्न जान्छ । डबल गर्न सकिँदैन । ”
संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए । उनले संसदभित्र छलफल नै नगरी संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारबाजी गर्नुको अर्थ नरहेको बताए ।






