तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको न्यू साउथ वेयल्र्स (एनएसडब्लु) बाट सचिव पदमा दिपक पहारीले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी सशक्त ठानिएको छ । हार–जीतको गोटी बन्नुभन्दा पनि आफू समाजसेवालाई निरन्तरता दिन, अनुभव र दक्ष्यता उपयोग गर्न सचिव पदको उम्मेदवार बनेको पहारीले बताए ।
विभिन्न संघसंस्थामा आबद्ध भएर समाजसेवा गरेको पहारीसँग एक दशकभन्दा बढीको अनुभव छ । उनी हाल एनआरएन एनएसडब्लुको कार्यकारी सदस्य, पोखरा समाज अस्ट्रेलियाको महासचिव र विगत दुई वर्षदेखि एनआरएन अस्ट्रेलिया एनएसडब्लुमा आबद्ध भएर काम गरेको अनुभव पहारीसँग छ ।
नेपालका ९ वटा स्कुललाई सहयोगका लागि आयोजना गरेको च्यारेटी गाला डिनर, नेपालको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको काउरा महोत्सव, नेपाल महोत्सव सिड्नीलगायत विभिन्न कार्यक्रममा पहारीले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
क्षमताले भ्याएसम्म अझ समाज सेवा गर्ने इच्छा छ, पहारी भन्छन्, ‘संस्थामा आबद्ध भएर समाज सेवा गर्दा सामूहिक भावना अभिवृद्धि हुन्छ, त्यसैले मैले एनएसडुब्लबाट सचिव पदमा उम्मेदवारी दिएको हुँ ।’ उनी अगाडि भन्छन्, ‘आगामी मेरा कार्यक्रम योजनाबद्ध हुनेछन् । एनआरएन अस्टे«लिया एनएसडब्लु एससीसीले थालनी गरेका राम्रा कामलाई निरन्तरता दिनेछु ।
जुझारु सचिव पदका उम्मेदवार पहारीले भावी योजना पनि सार्वजनिक गरेका छन् । एनआरएन अस्ट्रेलियाले सञ्चालन गरेको वेभसाइटलाई नेपालको पर्यटन सूचनामुखी बनाउने योजना छ । नवआगन्तुक विद्यार्थीलाई आवश्यक सूचना, कामका लागि तालिम, अत्यावश्यक सहयोग र सामुन्द्रिक सुरक्षाका उपायलगायत विषयमा हेल्प डेक्स सञ्चालनमा ल्याउने योजना छ । त्यस्तै नेपाली तथा गैरनेपाली व्यवसायीसँग समन्वय गरी एनआरएन प्रिभिलेज कार्डको सुरुवात गरी एनएसडब्लु स्टेटका सदस्यहरुलाई उपलब्ध गराउने योजना छ ।
नेपालीको पहिलो र दोस्रो पुस्तामा एनआरएनको आवश्यकता र यसको भूमिबारे वृहद छलफल गर्ने र एउटा उच्चस्तरीय कमिटी बनाइ नयाँ पुस्तालाई लक्ष्य गरी कार्यक्रम बनाउने उनले सार्वजनिक गरेको योजनामा समेटिएको छ ।
त्रिविविबाट विज्ञान विषय, अस्ट्रेलियाबाट आईटी र युएसक्युमा मास्टर्स गरेका पहारी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व लेक्चर हुन् । उनी पोखरा पर्यटन काउन्सिलका सचिवसमेत थिए ।







