सभासद् मलेसिया भ्रमण गएकोमा सभासद्कै आपत्ति

काठमाडौं, ११ चैत । संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापतिसहित सभासद्हरुको टोली गत हप्ता मलेसिया भ्रमण जाँदा समितिकै बेइजत गरेको भन्दै अन्य सभासद््हरुले आपत्ति जनाएका छन् । समितिको आजको बैठकमा सभासद्हरुले समितिमा छलफलबिनै आफुखुशी चोर बाटोबाट सभासद्हरु विदेश भ्रमणमा गएको भन्दै रोष प्रकट गरेका थिए ।
सभासद्हरुले चर्को आलोचना गरेपछि भ्रमणदलका संयोजकसमेत रहनुभएका समितिका सभापति प्रभु साहले आफुहरु समितिमार्फत नभई मन्त्रालयबाट विदेशमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न गएको प्रष्टोक्ति दिनुभयो ।
उहाँले सुरुमा कोषको रकमबाट विदेश लैजान लागेको जानकारी पाएपछि आफूहरु कोषको रकम प्रयोग नगर्ने मन्त्रालयलाई जानकारी गराई प्रक्रिय सच्याएर भ्रमणमा गएको जिकिर गर्नुभयो । बैठकमा सभासद् राजन भट्टराईले समितिका केही सभासद् खुसुखुसु विदेश घुम्न जाने तर समितिको सदस्यको हिसाबले आफूले जवाफ दिनुपर्ने बाध्यता आउनु बिडम्बना भएको बताउनुभयो ।
सभासद् राजिवविक्रम शाहले समितिका सभापतिले समितिको बैठक डाक्न पछाडि हट्ने तर विदेश जान भने अगाडि बढ्ने भन्दै नैतिकताको ख्याल राख्न सुझाव दिनुभयो । सभासद् पेम्बा लामाले सभासद्को टोली विदेश जाँदा खर्च भएको रकमको स्रोत कहाँबाट आएको भन्ने प्रष्ट नभएको बताउँदै त्यसबारे आमजनतालाई प्रष्ट पार्नुपर्ने माग राख्नुभयो ।
सभासद्हरु धनमाया विक, राधा तिमिल्सिना, विष्णु परियारलगायतले विचौलियाको लगानीमा सभासद्हरु विदेश भ्रमणमा गएर समितिलाई कमजोर पार्ने खेलमा लागेको आरोप लगानुभयो । कामदारको अवस्था बुझ्ने भन्दै सभापति साह सहित सभासद्हरु बलबहादुर केसी, कमला शर्मा, जितेन्द्र देव, भरत खड्का, सोमप्रसाद पाण्डेसहितको टोली मलेसिया भ्रमणमा गएको थियो ।