काठमाडौं, ११ चैत । सहमतिको आधारमा पहिचानसहितको संविधान बनाउन माग गर्दै आएको ३० दलीय मोर्चाले आज प्रधानमन्त्री र मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम गर्दैछ । सरकार विरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको मोर्चाका नेता–कार्यकर्ताले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुको सार्वजनिक कार्यक्रममा अवरोध, बहिष्कार तथा कालो झण्डा प्रदर्शन गर्न लागेका हुन् । जारी एसएलसी परीक्षामा प्रभाव नपर्ने गरी हाल प्रचारात्मक कार्यक्रम गर्दै आएको मोर्चाले त्यसपछि कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ । चैत १५ देखि २६ सम्मका लागि आक्रामक कार्यक्रम मोर्चाले यसअघि नै सार्बजनिक गरेको थियो । मोर्चाको कालो झण्डा प्रदर्शन लगायतका विरोध कार्यक्रमलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । आन्दोलनका क्रममा अत्यावश्यक सामग्रीको आपूर्ति गर्न तथा संभावित जनधनको क्षति रोक्न ५० हजार भन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयले तयारी गरेको छ । सत्ता पक्ष कांग्रेस–एमालेलगायत पार्टीले बहुमतको बलमा संविधान जारी गर्न खोजेको विरोधमा एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले चरणबद्ध आन्दोलन गर्दै आएको छ । यसअघि मोर्चाले देशव्यापी जनप्रदर्शन र सभा गरेको थियो ।
प्रधानमन्त्री र मन्त्रीलाई कालो झण्डा






