भूमिगत रेल चढेर फ्रान्स पुगेका ओलीले आज समकक्षी फिलिपेसँग भेट्ने

काठमाडौं- बेलायतको तीन दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्स पुगेका छन् ।

प्रधानमन्त्री ओलीले आज फ्रान्सका प्रधानमन्त्री इडियार्डो फिलिपेसँग भेटवार्ता गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगिसकेको छ ।

प्रधानमन्त्री ओली हिजो युरो टनेल भनिने भूमिगत रेल चढेर फ्रान्स पुगेका थिए ।

१९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको सुरुङमार्ग ५० किलोमिटर लामो छ ।

यसअघि बेलायतस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेलायतमा कमाएको सीप, ज्ञान तथा सम्पत्ति लिएर नेपाल फर्किन आह्वान गरे ।

नेपालीहरु वीर हुन् भन्ने कुरा बेलायतले सबैभन्दा पहिले चिनेको जनाउँदै सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गोर्खालीहरुको कर्तव्य, निष्ठा र अनुशासासित भएको चर्चा गरेका थिए ।

दुई देशबीचको सम्बन्धलाई अझैँ प्रगाढ गराउन आफ्नो भ्रमण सफल भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीको सम्मान र स्वागतमा नेपाली दूतावासले गरेको कार्यक्रममा बेलायतका विभिन्न शहरहरुबाट सयौं नेपालीहरु उपस्थित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *