बेलायतमा हजारौंलाई नचायो मगर संघको ओपन कन्सर्टले (फोटो फिचर)

शिब भण्डारी

लण्डन । बेलायतको खुला मैदानमा मगर संघ युकेको ओपन कन्सर्टले हजारौं नेपालीलाई आकर्षित गरेको छ । गत शनिबार उल्लेख्य नेपाली बस्ने नगर फार्नबोरोस्थित फार्नबोरो फुटबल क्लबको ओपन कन्सर्ट ‘म्यूजिक फर यूनिटी’मा करिब पाच हजार सहभागी थिए । बेलायतमा नेपालीले बृहत्‌स्तरमा गर्ने खुल्ला सांस्कृतिक कार्यक्रम (ओपन कन्सर्ट) यो मात्र एक हो ।

नेपाली संगीत क्षेत्रका नयाँ, पुराना आधा दर्जनभन्दा बढी कलाकारहरु उपस्थित कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका धरोहर ८२ वर्षीय वरिष्ठ गायक  प्रेमध्वज प्रधानले आफ्ना कर्णप्रिय गीत सुनाए। कन्सर्टमा प्रस्तुति गर्ने सम्पूर्ण कलाकारसँगै उनले ‘यो नेपाली शिर उचाली…’ प्रस्तुत गर्दा उपस्थित सयौँ दर्शकले पनि साथ दिए।

गायिका शान्तीश्री परियारले सुरुमै आफ्नो बहुचर्चित गीत ‘बोल माया….’ बाट दर्शकलाई भावुक बनाएकी उनले छोटो समयमा सर्वाधिक चर्चा कमाउन सफल भएको गायक प्रकाश सपुत र गायिका शान्तीश्री को स्वरमा रहेको गीत ‘गलबन्दी’  पछि कौडा  जस्ता गीत गाएर नचाएकी थिइन्।पहिलो पटक बेलायत आएकी शान्तिले उल्लेख्य दर्शकमाझ भनिन्, आज यति धेरै दर्शक देखेर ज्यादै उत्साहित छु भन्दै गायिका शान्तीश्रीले शनिवार बेलायतको फार्नबरो तताएकी थिइन् ।

कन्सर्टमा ‘सालको पात’ स्टार गायक कुलेन्द्र विकले पनि प्रस्तुति दिए। ‘सालको पात’, ‘नआउ है सानु पधेंरीमा’ सहितका आफ्ना लोकप्रिय गीतमा उनले दर्शकलाई मज्जाले नचाए।

कार्यक्रममा गायक तथा गायिकाहरु कुमारी चेपाङ्ग, निखिता थापा, कुमार पुन ,पवन राना र सञ्जय गुरुङ लगायतले विभिन्न लोक तथा दोहोरी गीत र आधुनिक गीतहरु गाएका थिए । त्यस्तै, सलिना थापा, नेपाली चलचित्र नायक धिरज मगर, दिपक मैथाने मगर लगायतले विभिन्न गीतमा उत्कृष्ट नृत्य प्रस्तुत् गरेका थिए ।कार्यक्रमको अन्त्यमा दोहोरी प्रस्तुत् गरिएको थियो ।त्यसअवसरमा धौलागिरी नौमती बाजा यूकेले पनि विशेष प्रस्तुति गर्यो ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय मेयर सु कार्टर र वरिष्ठ गायक प्रेमध्वज प्रधान बिशेष अतिथि रहेका थिए । सो अवसरमा नेपाली राजदूत डा.सुवेदीले उक्त कन्सर्टले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा बिशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे । बेलायतभर छरिएर बसेका भए पनि नेपालीहरु एकताको मजबुत, शिष्ट र विशिष्ट धागोमा उनिएर बसेको उनले बताए । ‘यस कार्यक्रमले नेपालको माटो र मुटुको अटुट सम्बन्ध प्रवासमा पनि बिर्सन सकेका छैनौं भन्ने सन्देश दिएको छ’, उनले भने ।साथै, उनले वरिष्ठ गायक प्रधानले नेपाली संगीतमा दिएको योगदानको प्रशंसा गरे ।

त्यस्तै, बिशेष अतिथि मेयर कार्टरले शुभकामना मन्तब्य दिदै आफ्नो बरोमा नेपालीको बृहत् सांस्कृतिक कार्यक्रम हेर्न पाउँदा खुसी लागेको बताइन् ।

मगर संघ युकेका अध्यक्ष ले.रि.सुनिल रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमकी प्रमुख संयोजक तथा संघकी वरिष्ठ उपाध्यक्ष सिता पुर्जा पुनले स्वागत मन्तब्य दिएकी थिइन भने महासचिव रुद्र थापाले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।

संघकी सांस्कृतिक सेक्रेटरी तेन्यांग राना सरुले सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै यो कन्सर्ट सबैका लागि अविस्मरणीय बनेको भन्दै कार्यक्रममा प्रस्तुति गर्ने कलाकारहरुकोभूमिका बारे जानकारी गराएकी थिइन् ।

दोश्रो चरणको सांस्कृतिक कार्यक्रम सूर्य गुरुङ, मिस युके नेपाल २०१६ टेनिसा राना र दिनेश रानाले संयुक्त रुपमा सञ्चालन गरेका थिए । उक्त साँस्कृतिक कार्यक्रमलाई व्यवस्थित सहसचिव रुक आले लगायतले बिशेष भूमिका खेलेका थिए ।कार्यक्रममा राफल ड्र समेत गरिएको थियो ।कार्यक्रमस्थलमा नेपाली खाना, च्यारिटी, व्यवसाय लगायतका २ दर्जन स्टलहरु राखिएको थियो ।

नेपाली कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ सन् २००२ मा स्थापित मगर संघ यूकेले सन् २००७ देखि हरेक वर्ष बेलायतमा ओपन कन्सर्ट आयोजना गर्दै आएको छ ।

भिडियो फोटो सहयोगी प्रकाश कंडेल लन्डन नेपाल न्युज

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *