एनआरएनए अस्ट्रेलियाको नेतृत्व लिने सोचमा अनिल

तक्दीर अधिकारी
सिड्नी । लेखा र व्यवस्थापनमा दख्खल राख्ने अनिल पोखरेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएन अस्ट्रेलियाको नयाँ नेतृत्वका लागि जुलाई ६ तारिखमा निर्वाचन हुँदैछ ।

‘साझा एनआरएनए, सबल एनआरएन’ नाराका साथ चुनावी मैदानमा होमिएका पोखरेल विभिन्न संघसंस्थामा आबद्ध छन् । चितवन समाज अस्ट्रेलियाका संस्थापक महासचिव तथा वर्तमान उपाध्यक्ष पोखरेल अहिले ब्लाक टाउन नेप्लिज कम्युनिटीका प्रवक्ता हुन् ।

एनआरएनए अस्ट्रेलियामा उनको संलग्नता पुरानो हो । विशेषतः व्यवस्थापन र आर्थिक पक्षसँग जोडिने पोखरेल उनी सिड्नीमा सन् २०१८ मा आयोजना भएको नेपाल फेस्टिबलमा स्टल समिति संयोजक हुन् । उनी एनआरएन आईसीसी इन्टरनल अडिट कम्युनिटी सदस्य छन् ।

सीपीए एकाउन्ट र विगत एक दशकदेखि अस्ट्रेलियाको कर्पोरेट र सरकारी विभागको फाइनान्ससम्बन्धी विभिन्न भूमिका निर्वाह गर्दै आएको अनुभव पोखरेलसँग छ ।

एनआरएन अस्ट्रेलियाको फाइनान्सियल रिर्पोटिङ र गर्भनेन्समा सुधार तथा परिवर्तन गर्नुपर्ने एजेन्डा पोखरेलले अगाडि सारेका छन् । आफू कोषाध्यक्ष पदमा निर्वाचित भए एनआरएनको त्रैमासिक फाइनान्सियल रिर्पोट एनआरएनए अस्ट्रेलियाका सदस्यहरुलाई वेभसाइट वा इमेलमार्फत् जानकारी गराउने प्रतिबद्धता जाहेर गरेका छन् । अस्ट्रेलियाका राज्य र संघीय सरकारका एजेन्सीसँग कम्युनिटी ग्रान्टका लागि समन्वय गर्ने तथा एनआरएन अस्ट्रेलियालाई च्यारेटिबल अर्गनाइजेन्सका रुपमा दर्ता गर्न पहल गर्ने आफ्नो योजना रहेको पोखरेलले लन्डन नेपाल न्युजलाई सुनाए ।

एनआरएन अस्ट्रेलिया नेपाल सरकारबाट मान्यता प्राप्त गैरआवासीय नेपालीहरुको छाता संगठन भएको पोखरेलको धारणा छ । विगतका वर्षहरुमा आफ्ना सीमित स्रोत र साधनका बाबजुद पनि एनआरएनले धेरै काम गरेको छ । पोखरेलले भने, ‘एनआरएनका असल काम र यसका उद्देश्यलाई जनमानसमा सही ढंगले सम्प्रेषण गर्न नसक्दा विभिन्न प्रश्न उठ्ने गरेको पाइन्छ ।’

एनआरएन अस्ट्रेलियालाई समयनकूल सुधार र परिस्कृत गर्न निःसन्देह जरुरी रहेको पोखरेलको भनाइ छ । यसका लागि हामीजस्ता युवाहरु एनआरएको अभियानमा संलग्न हुन जरुरी छ, उनले भने, ‘अग्रजको अनुभव र मार्गनिर्देशनलाई अनुशरण गर्दै आजको सोच र युवा जोशका साथ अघि बढे एनआरएनले डायस्पोरा र मातृभूमि नेपालमा धेरै काम गर्न सक्नेमा कुनै शंका छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *