बुधबार बिहान एकदमै दुःखद घटना घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन घेरिएको बार डोरजर लगाएर सबै भत्काएको छ । स्थानीय र केही अराजकको अगुवाइमा बार भत्काउने काम भयो । आफ्नै आँखाका अगाडि मैले जुन दृश्य देखे, योभन्दा कारुणिक दृश्य जीवनमा मैले कहिले देखेको थिइनँ । हुन त योभन्दा अगाडि बस्ती बनाउँदा पनि धेरै दुःख, धाक धम्की सहेको अनुभव हामीलाई थियो ।
सबै चिज त्यागेर राष्ट्रका लागि केही गर्नुपर्छ भनेर लागेको थिएँ । जुन स्थानमा हामीले क्रिकेट स्टेडियम बनाउँदैछौं, त्यही ठाउँमा बाटोको विषयलाई लिएर विवाद निकालियो । यही विवादमा छलफल गर्दा साढे चार महिना बितिसकेको थियो । दक्षिणतिर हामीले कम्पाउन्ड घेरिसकेका छौं ।
हामीलाई स्टेडियम बनाउन जति क्षेत्रफलको जग्गा दिएको छ, त्यो क्षेत्रफलभित्रबाटै बाटो दिनुपर्छ भन्ने उहाँहरुको माग थियो । डिपिआर आइसकेपछि कत्रो संरचना बन्छ, कति स्पेस बाँकी रहन्छ त्यसपछि सल्लाह गरेर बाटो छोडौंला भनेका थियौं हामीले । महानगरपालिका, स्थानीय र हामी निर्माणकर्ताबीच छलफल गरौं । कति छोड्नुपर्ने हो, हामी छोड्न तयार छौं ।
रंगशालालाई पनि बाटो चाहिन्छ भनेर हामीले पटक पटक भनेकै थियौं । सहमतिमै हामीले हिजो मंगलबार हामीले यो बार लगाएका थियौं । बार लगाइसकेपछि हामीले स्थानीयलाई अवगत गराएका थियौं । आज बुधबार बिहान लगभग डेढ दुई सय मान्छे जम्मा भएर डोजर लगाएर बार पेल्ने काम भयो । बार सबै नस्ट गरियो ।
विदेशमा बस्ने नेपाली, जसले हामीलाई यति धेरै सद्भावका साथ सहयोग गर्नुभएको छ, उहाँहरुको पसिनामाथि डोजर चलाइयो यहाँ । सबै कुरा त्यागेर देशका लागि केही गर्ने भनेर अठोटका साथ हामी रंगशाला निर्माणका लागि हामी चितवन आएका थियौं । यहाँ रंगशाला निर्माण गर्ने सपना हाम्रो मात्र होइन, सिंगो देशको सपना हो ।
यहाँ सबै मान्छे खराब निस्के, कोही पनि असल र सत्कर्म गर्नुपर्छ, सकरात्मक सोच लिएर हिड्नुपर्छ, देशका लागि काम गर्नुपर्छ भन्ने मान्छे, विरलै पाइन्छ । हामी केही अभियान्ता मात्र छौं । जसको दायित्व थियो, उसले आफ्नो जिम्मेवारी पूरा नगरेका बेलामा हामी नागरिकको तर्फबाट एकजुट भएर देशको आवश्यकताको विकास गरौं । खेलाडी हाम्रै सन्तान हुन् ।
उहाँहरुका लागि एउटा अन्तर्राष्ट्रिय संरचना बनाउँ भनेर लागिरहँदा र यहाँका स्थानीयहरुको खुशी यो रंगशालामा जोडिएको थियो । उहाँहरुले बाटो इस्युलाई चर्काउन आवश्यक थिएन । बाटो दिने नै भनेको हो, महानगरले पनि नदिने भनेको छैन ।
राजनीतिक आडमा नियोजित हिसाबले यो रंगशालामाथि प्रहार गरेका छन् । यो बाटोको इस्यु मात्र होइन, यहाँ पटक पटक धाक धम्की दिने, कर्मचारीलाई थर्काउने, यति प्रतिशत कमिसन चाहियो भन्ने, काम गर्ने मान्छे हाम्रा राख भन्ने, हाम्रो मेसिन चल्नुपर्छ भन्ने, हामीलाई यहाँ किन प्राथमिकतामा राखिँदैन ? हामीलाई नसोधी कसरी बनाउँछ भन्ने धम्की पटक पटक आएको थियो ।
हामी सहनशील छौं, नकरात्मक कुरा बाहिर नजाओस्, सद्बुद्धि उहाँहरुमा आओस् भनेर हामी सम्झाउँथ्यौं । सम्झाउँदा सम्झाउदै पनि दुःख प्रहार भएको छ । हामी हाम्रा स्वार्थका लागि हिडेका होइनौं, आफ्नो पेशा, घरपरिवार सबै चीज सिंगो देश र देशवासीको खुशीको लागि हिडिरहँदा हामीमाथि प्रहार भएको छ ।
– सीताराम कट्टेल
https://www.facebook.com/AasthaRautOfficial/videos/369040807054643/






