तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ ओसिनिया क्षेत्रीय सम्मेलन यतिबेला सिड्नीमा चलिरहेको छ । ओसिनिया क्षेत्रको यो तेस्रो सम्मेलन हो । आज शनिबार र भोलि आइतबारसम्म सञ्चालन हुने उक्त सम्मेलनको उद्घाटन नेपालका कानुन मन्त्री भानुभक्त ढकाल र एनआरएनए अध्यक्ष भवन भट्टले संयुक्त रुपमा पानसमा बत्ती बालेर गरेका थिए ।
अतिथि मन्त्री ढकालले विदेशमा सिकेको सिप नेपालमा लैजानुपर्ने बताएका थिए । एनआरएनलाई प्रदान गरिने नागरिकता विधेयक यतिबेला संसदमा विचाराधीन रहेको जानकारी दिँदै उनले नेपाल अब पहिलाजस्तो नभएको र समृद्धिको बाटोमा अघि बढेको बताएका थिए । देशलाई अहिले प्रविधि सिप र प्रविधि चाहिएकाले एनआरएनले त्यसमा सहयोग गर्न सक्ने बताएका थिए ।
एनआरएन अध्यक्ष भवन भट्टले नमुना बस्ती बनाएको जानकारी गराए । उनले एयरपोर्टमा एनआरएनका लागि हेल्प डेक्स खोलियोलगायत एआरएनले गरेका कामबारे बालेका थिए । कार्यक्रममा एनआरएन पूर्वअध्यक्ष शेष घले, ओसिनियाका संयोजक धर्मराज अधिकारी, नारायण खड्कालगायतले बोलेका थिए ।
इन्भेष्टमेन्ट, इनोभेसन र टुरिजम मूल नाराका साथ आयोजना गरिएको सम्मेलनमा सहभागी हुन एनआरएन अध्यक्ष भट्ट, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसीलगायतको सहभागिता थियो । कार्यक्रममा नेपाली कांगे्रसका तर्फबाट केन्द्रीय सदस्य रमेश लेखकको शुभकामना सन्देश दिनेश जोशीले वाचन गरेर सुनाएका थिए ।
केही ढिलो आएका प्रमुख अतिथि अस्ट्रेलिया संघीय सरकारका अध्यागमन मन्त्री डेभिट कोलम्यानले लिबरल पार्टी पुनः सत्तामा फर्किए मोरिसन सरकारले न्यूसाउथ वेल्समा सामुदायिक भवन निर्माणका लागि नेप्लिज अस्ट्रेलियन एसोसिएनलाई १० लाख डलर प्रदान गर्ने घोषणा गरे । नेपाली मूलका मतदाता ठूलो संख्यामा रहेको ब्याङकस नामक दक्षिण सिड्नी निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका मन्त्री कोलम्यानले सामुदायिक केन्द्र निर्माणले नेपाल–अस्ट्रेलियाली समुदायलाई सामाजिक सेवा र बहुसांस्कृतिक अस्ट्रेलियाको विकासमा सहयोग पुग्ने बताए ।
समृद्ध नेपालका लागि एनआरएन सदैव र सबैको लागि नारासहित कार्यक्रममा विभिन्न विषयमा दर्जन बढी कार्यपत्र प्रस्तुति गरिनेछ । भोलि आइतबार घोषणापत्र सार्वजनिक गर्दै सम्मेलन समापन हुने बताइएको छ ।







