काठमाडौं । यो पल्टको ‘मिस नेपाल वल्र्ड २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । अन्तिम चरणमा ७ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले ‘मिस नेपाल’को उपाधि जितेकी हुन् । पाँच वर्षअघि उच्च शिक्षाका लागि उनी अस्ट्रेलिया पुगेकी थिइन् । अध्ययनसँगै उनले अस्ट्रेलियामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउँथिइन् । युएनई अस्ट्रेलियाले आयोजना गरेको मिस नेपाल ओसिनियाको अनुष्का विजेता हुन् ।
अनुष्का अस्टे«लियाको पहिलो नम्बरको बैंक मानिने कमनवेल्थ बैंकको जागीर छोडेर मिस नेपाल प्रतियोगितामा भाग लिन नेपाल फर्केको एनआरएन टिभी सोले उल्लेख गरेको छ । अस्टे«लियन क्याथोलिक युनिर्भसिटीमा अध्ययन गरेकी २३ वर्षीया अनुष्काले अब डिसेम्बर ७ मा आयोजना हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छिन् ।
यस्तै सन् २०१६ मा युएनईले आयोजना गरेको मिस्टर नेपाल ओसियना भएको प्रमेज श्रेष्ठले सत्तारुढ लिबरल पार्टीबाट सांसदको टिकट पाएका छन् । उनलाई पनि सफलता प्राप्त हुने अनुमान अस्ट्रेलियावासी नेपाली समुदायले गरेका छन् ।






