लन्डन । वरिष्ठ अभियन्ता तथा विश्लेषक आर.के. त्रिपाठीले तमुधीं यूकेलाई नेपाल सरकारमार्फत ‘गोरखा दक्षिण बाहु’ सम्मानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नु पर्ने भनेका छन्।
त्रिपाठीले तमुधीं यूकेद्वारा लामो समयदेखि बेलायतमा नेपाली संस्कृति, परम्परा, सामाजिक एकता र मानवीय सेवामा पुर्याउँदै आएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मानका लागि नागरिक स्तरबाट औपचारिक सिफारिस गर्नु पर्ने बताएका हुन् ।
उनले नेपालमा हालै भएको विनाशकारी हिमताल विस्फोटजन्य बाढी (GLOF) का कारण ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विपत्तिको यस कठिन घडीमा संसारभरका नेपालीहरू भावनात्मक रूपमा नेपालसँग जोडिएको बताएका छन्।
१७औँ नेपाली मेला: संस्कृति मात्र होइन, मानवताको सन्देश:
आर.के. त्रिपाठीका अनुसार बेलायतमा सम्पन्न तमुधीं यूकेको १७औँ नेपाली मेला केवल सांस्कृतिक कार्यक्रम मात्र नभई संस्कृति, परम्परा, सामाजिक एकता र मानवताको साझा मञ्च बनेको छ।
करिब १० हजारभन्दा बढी नेपालीहरूको सहभागितामा सम्पन्न उक्त मेलाले बेलायतस्थित नेपाली समुदायको एकता, पहिचान र सामूहिक शक्तिलाई विश्वसामु प्रस्तुत गरेको उनले उल्लेख गरे।
मेलामा नेपाली संगीत, नृत्य, भेषभूषा, खानपान तथा सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई जीवन्त बनाएको थियो। तर यस वर्षको विशेष पक्ष भने नेपालमा भएको प्राकृतिक विपत्तिप्रति देखाइएको ऐक्यबद्धता रहेको उनले बताए।
कार्यक्रमको बीचमा बाढी तथा विपत्तिमा ज्यान गुमाउनेहरूप्रति दुई मिनेट मौनधारण गरिएको थियो। साथै, कार्यक्रमबाट संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री आपत्कालीन राहत कोषमा जम्मा गर्ने घोषणा पनि गरिएको थियो।
त्रिपाठीले यसलाई “हजारौँ उपस्थित नेपालीहरूको सामूहिक भावना र मानवीय ऐक्यबद्धताको ऐतिहासिक उदाहरण” भनेका छन्।उनले विपत्ति आएको अवस्थामा सबै गतिविधि रोक्नुपर्ने नभई परिस्थितिअनुसार कार्यक्रमको स्वरूप परिवर्तन गर्न सकिने धारणा व्यक्त गरे।
उनका अनुसार सांस्कृतिक कार्यक्रमलाई श्रद्धाञ्जली, राहत संकलन र सामाजिक सहयोगसँग जोड्न सकिन्छ। यसरी जीवनलाई नरोकेर जिम्मेवार रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।
प्रवासी नेपालीको एकता र योगदान
त्रिपाठीले बेलायत लगायत विश्वभर छरिएका नेपालीहरू एउटै भावनाले नेपालसँग जोडिएको उल्लेख गर्दै विपत्तिको समयमा प्रवासी समुदायको भूमिका अझ महत्वपूर्ण हुने बताए।
उनले तमुधीं यूकेको दीर्घकालीन योगदानको प्रशंसा गर्दै यसपटकको मेला संस्कृति मात्र होइन, मानव सेवाको उदाहरण बनेको टिप्पणी गरे।
‘गोरखा दक्षिण बाहु’ का लागि सिफारिस
त्रिपाठीले तमुधीं यूकेको निरन्तर सांस्कृतिक तथा मानवीय योगदानलाई सम्मान गर्दै नेपाल सरकारमार्फत ‘गोरखा दक्षिण बाहु’ प्रदान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्न पहल गर्न बताएका छन्।
उनले यो सम्मान केवल संस्थाको मात्र नभई विदेशमा बसेर नेपाली संस्कृति, पहिचान र मानव सेवामा योगदान दिने सम्पूर्ण नेपाली समुदायको सम्मान हुने बताए।
विपत्तिप्रति भावनात्मक सन्देश
उनले अन्त्यमा नेपालमा भएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई सहयोग गर्न सबै नेपालीलाई आह्वान गरेका छन्।
“नेपाल दुःखमा हुँदा हामी सबैको कर्तव्य हो—सहयोग, ऐक्यबद्धता र साथ,” त्रिपाठीको भनाइ उद्धृत गर्दै उनले भनेका छन्।
⸻
आर.के. त्रिपाठी
वरिष्ठ इन्जिनियर तथा सामाजिक अभियन्ता, बेलायत






