लण्डन। बेलायतको हाउस अफ लर्ड्समा नेपाल सेन्टर यूके नामक संस्थाको उद्घाटन गरिएको छ। बुधबार अपरान्ह आयोजित कार्यक्रम लाई सम्वोधन गर्दै लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले ब्रिटेन तथा नेपालबीच सम्वन्ध बहुआयामिक रहेको बताए। उनले नया संस्थाले नेपाल तथा ब्रिटेनबीच पूलको रुपमा काम गर्ने आशा पनि ब्यक्त गरे।
गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले नेपाल तथा ब्रिटेनबीच कला तथा संस्कृतिको क्षेत्रमा सहयोग बढाउन गठन भएको सेन्टरको सफलताको कामना गरे। उनले गैर आवासीय नेपाली संघ ले विश्व भरी फैलिएका ८० ओटा राष्ट्रिय समितिहरु मार्फत नेपाल मा कल्याणकारी काम हरु गरि रहेको जना उदै नेपाल मा लगानी गर्न ब्रिटिश व्यवसायीहरुलाई आग्रह पनि गरे। 




काठमाडौँ स्थित सेन्टर फर नेप्लिज कल्चर नेपाल सेन्टरका अध्यक्ष निर्मल कुमार थापाले संस्कृतिले मानिसलाई जोड्छ भन्दै संसारभरि नेपाली कला, संस्कृति, नाच, खाना लगाएतको प्रवर्धन गर्न सेन्टरले काम गर्ने बताए। उनले लन्डन पछि बेइजिङ्ग र दिल्लीमा पनि सेन्टरले शाखाहरु खोल्न लागेको जानकारी दिए ।
नेपाल सेन्टर यूकेकी सदस्य डा. संगीता श्रेष्ठले सेन्टरले ब्रिटेनमा नेपाली कला र संस्कृति झल्काउने नेपाल हाउस बनाउने, कला प्रदर्शनी तथा संस्कृतिक कन्सर्ट आयोजना गर्ने, नेपाली क्यालेन्डर छाप्ने र निकट भविस्यमा एउटा नेपाली रेस्टुरेन्ट स्थापना गर्ने लगायतका योजना हरु बनाएको सुनाइन।
बेलायतमा संचालन गरिने ताण्डव नामक रेस्टुरेन्टमा भगवान शिव तथा हिन्दु परम्परालाई समेट्ने सेन्टरको योजना छ । डा. श्रेष्ठले सामाजिक उद्यमको धारणा अन्तर्गत संचालन गरिने यी उद्यमहरुबाट प्राप्त मुनाफा नेपाली सांस्कृतिक गतिविधिको प्रवर्धन गर्न खर्च गरिने पनि बताइन। सेन्टरका सदस्यहरु मनोज शर्मा तथा स्नेहा श्रेष्ठले सेन्टरको बारेमा थप जानकारी दिएका थिए।
कार्यक्रमका अन्य वक्ताहरुले पनि सेन्टरको सफलताको कामना गरेका थिए। लर्ड इभान्सले संचालन गरेको कार्यक्रममा लर्ड ब्राउन, एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामी, चर्चित गायक योगेश्वर अमात्य, गोर्खा ब्रिगेडका अधिकृतहरु लगायतको उपस्थिति थियो। (सबै फोटोहरु साभार: एभरेस्ट गौतम)






