एजेन्सी- ब्रिटेनको सबैभन्दा ठूलो शहरमध्ये एक बर्मिंघममा गत राती पाँच मस्जिदमाथि हिंस्रक हमला भएको छ ।
सुरुवाती रिपोर्ट अनुसार यो हमला बुधबार अबेर रातीदेखि बिहिबार बिहान हुनुअघि भएको हो । मस्जिदको बाहिरी झ्याल तथा ढोकामा एक बलियो हथौडाले हमला गरियो । बर्चफिल्ड रोडस्थित मस्जिदमा भएको यो हमला अबेर राती करिब साढे दुई बजे भएको हो ।
यो हमलाको सूचना पाएको करिब ४५ मिनेटपछि नै यस्तै हमलाको सूचना अर्डिंगटनबाट पनि आयो । यसबाहेक एस्टन र पेरी बारमा पनि ठिक यस्तै हमलाबारे पुलिसले जानकारी पायो । यसबाहेक अलबर्ट रोडमा पनि यस्तै हमला भयो ।
गृह सचिवले यो हमलालाई गम्भीर र चिन्ताजनक बताएका छन् । बेस्ट मिडल्याण्डको पुलिसका अनुसार अहिलेसम्म यी हमलाको उद्देश्य पत्ता लाग्न सकेको छैन तर अधिकारी यसको कारण जान्न प्रयास गरिरहेका छन् ।
एस्टनमा मस्जिद फैजुल इस्लाम मस्जिदका अध्यक्ष यूसुफ जमानले उक्त हमलाबारे थाहा पाउँदा सुरुमा आफूलाई विश्वास नलागेको बताए । हमलाको कारण के हुनसक्ला भनेर उनले चिन्ता व्यक्त गरे ।
उनी भन्छन्, ‘यो हमलापछि मानिसहरु डराएका छन् । उनीहरु आफ्ना सन्तानको सुरक्षाका लागि चिन्तित न् त्यसकारण उनीहरुलाई मस्जिद पठाउन पनि डराइरहेका छन् ।’
यद्यपी, जमानले यस्तो कुनै पनि हमलाले उनीहरुलाई प्रार्थनाका लागि नरोक्ने बताएका छन् ।
उनी भन्छन्, ‘हामी हाम्रो प्रार्थना अरु दिन जसरी गर्दथ्यौं, अब पनि त्यसरी नै गर्नेछौं । हामी कुनै पनि हालमा हिंसा बढाउनेलाई जित्न दिनेछैनौं ।’
उनले मस्जिद वरिपरि सुरक्षाको चर्चाको विषयमा एक शिखर सम्मेलन पनि गरिएको उनले जानकारी दिए ।






