एउटा सच्चा साथीलाई सधैभरी मिस गर्छौ: गगन थापा

काठमाडौं– नेपाली काँग्रेसको नेता गगन थापाले रवीन्द्र अधिकारीले नेपालको राजनीतिमा विकासका विषयलाई मुख्य एजेन्डा स्थापित गर्न भूमिका खेलेको बताएका छन् । शुक्रबार काठमाडौंको टुँडिखेलमा गरिएको श्रद्धाञ्जलीसभामा बोल्दै उनले अधिकारीले अरु कुरा गौण भएको र विकासलाई पहिलो प्राथमिकतामा राख्ने नेता भएको बताए ।

उनले भने– ‘हामी संसद छुट्टाछुट्टै समितिमा भएपनि बेला–बेला संयुक्त बैठक बस्ने, छलफल गर्ने गथ्र्यौँ, त्यसमा उहाँकै नेतृत्व हुन्थ्यो । हाम्रो पुस्ताका व्यक्तिले मिस गर्ने भनेको उहाँ एकदमै असल साथी । मैले चाही त्यस्तो असल साथी अरु कोही बनाउन सकिन भन्ने लाग्छ । मलाई अरुले चिन्दाखेरी काँग्रेसको भनेर चिन्छन् तर रवीन्द्र अधिकारीको त्यस्तो थिएन । हामी एउटा सच्चा साथीको रुपमा सधैभरी मिस गर्छौँ ।’

उनले रवीन्द्र अधिकारीको सक्रियता र सकारात्मक सोचाईपन सबैभन्दा महत्वपूर्ण रहेको बताए । राजनीति गर्ने सबै मान्छेको आलोचना सामान्य भएपनि रवीन्द्र अधिकारी जुनसुकै बेला पनि मुस्कुराइरहने व्यक्तित्व रहेको भन्दै उनले भने– ‘उ क्यामेराअघि मात्र हैन, भित्र दुई जना, चार जना जतिजना बसेको ठाँउमा पनि मुस्कुराइरहन सक्ने, जुन कुरालाई पनि सकारात्मक कोणबाट हेर्न सक्ने सकारात्मक सोचले भरिएको व्यक्तित्व हो ।’

पछिल्लो समयमा उनी विवादमा परेको बेला आफ्नो दलले आलोचना गरेको बताउँदै उनले आलोचना गर्नेहरु रातोपिरो भएपनि त्यो विषयलाई पनि सरकारात्मक रुपमा लिन सकेको स्मरण गरे । विकासको एजेन्डा स्थापित गर्न, झगडा भएपनि विकासको मुद्धामा नै झगडा हुनुपर्छ भन्ने कुरामा अधिकारी सधै अधिकारी रहेको थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *