शिब भण्डारी
लण्डन । ७ महिनाभित्र ८ हजारभन्दा अग्ला विश्वका १४ हिमाल चढेर किर्तिमान रच्ने निर्मल पूर्जाको अभियानमा एनआरएन यूकेले पनि साथ दिएको छ ।
आइतबार अल्डरसटमा एक प्रेस मिट आयोजना गर्दै एनआरएन यूकेले विश्वमाझ नेपाल र नेपालीको प्रतिष्ठा उचो पार्ने लक्ष्यसहित अघि बढेका निर्मललाई सघाउन सबैलाई अपील समेत गरेको छ ।
सोहि कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।
७ महिनामा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालहरु आरोहण गरेर इतिहास रच्ने सुरमा निर्मल छन् ।
यसअघि धेरैले असम्भव ठानेर विश्वास नगरेको प्रोजेक्टलाई सम्भव बनाउने आत्मविश्वाससहित म अघि बढ्ने कोशिस गरिरहेको छु, प्रोजेक्ट पोसिबललाई सफल पार्ने आफ्नो अठोटमा सघाउन अपील गर्दै निर्मलले भने, यो प्रोजेक्ट मेरो व्यक्तिगत नभएर सिंगो गोर्खाली र नेपालीको हो । त्यसैले तपाईंहरु सबैबाट सक्दो साथ र हौसला पाउनेछु भन्ने आशा राखेको छु । 
निर्मलको १४ वटा अग्ला हिमाल आरोहणको अभियान ७ महिनाभित्र पूरा गर्ने उनको लक्ष्य छ । जसमध्ये पहिलो चरणमा ६, दोस्रो चरणमा र अन्तिम चरणमा हिमाल चढ्ने योजना उनले बनाएका छन ।
निर्मलको प्रोजेक्ट पोसिबल निकै खर्चिलो छ । उनको लक्ष्यअनुसार १४ हिमालको आरोहण पूरा गर्न उनलाई झण्डै ७ लाख ५० हजार पाउण्डको रकम आवश्यक पर्नेछ ।
तर आइतबारसम्म उनीसंग १ लाख ३१ हजार पाउण्ड मात्रै संकलन भएको थियो जुन रकम पहिलो चरणमा उनले ६ वटा हिमालको आरोहण पूरा गर्न आवश्यक पर्ने रकमको आधा भन्दा पनि थोरै रकम हो ।
आफनो अभियानमा १० लाख पाउण्डको कोष जम्मा पार्ने र आरोहणको खर्चबाट बचेको रकम सेवाका क्रममा घाइते भूपू गोर्खा र नेपालका अनाथ बालबालिकाहरुको लागि सहयोग गर्ने निर्मलको योजना छ ।
बेलायती सेनामा डेढ दशक सेवा गरिसकेका निर्मलले आकर्षक तलब र पेन्सनको समेत प्रवाह नगरी जागिरबाट अवकाश लिएर यतिबेला यहि किर्तिमानी आरोहणको तयारीमा जुटेका छन् ।
यसअघि नै निर्मलले हिमाल आरोहणका कैयौं रेकर्डहरु बनाउन सफल छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उनी पहिलो गोर्खा हुन् । उनले सबेभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरेको किर्तिमान पनि राखेका छन् । ५ दिनमै ८ हजार मिटरभन्दा अग्ला सगरमाथा , मकालु र ल्होत्से हिमाल आरोहण गरेका निर्मलले १७ दिनमा दुई पटक सगरमाथा र एकएकपटक ल्होत्से र मकालु चढेर किर्तिमान बनाएका छन् ।
त्यसो त सन् २०१७ मा १३ जना गोर्खाहरुको एभरेष्ट एक्सिपिडसनको नेतृत्व पनि निर्मलले नै गरेका हुन् । सगरमाथा चढ्ने क्रममा मृत्युको मुखमा पुगेका एक अर्का आरोहीको उद्धार गरी बचाएपछि उनको साहस र बहादुरीको निकै चर्चा भएको थियो । निर्मलले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड समेत प्राप्त गरिसकेका छन् ।
पत्रकार सम्मेलनमा एक भिडियो प्रिजेन्टेसनमार्फत निर्मलले आफ्नो पृष्ठभुमि र
विगतका अनुभवहरुसहित प्रोजेक्ट पोसिबलको बारेमा प्रस्टाएका थिए । त्यसअवसरमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले विश्वमाझ नेपाल र नेपालीको प्रतिष्ठा उचो गर्ने निर्मलको अभियानमा सहयोगीका रुपमा जोडिन पाउंदा गौरवान्वित महसुस भएको बताए । सबै नेपालीहरुको साथ र सहयोग पाउन सके निर्मलको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष फगामीले उनलाई आर्थिक तथा नैतिक सहयोग गरिदिन सबैमा अपील गरे ।
एनआरएन आइसिसीका सदस्य रामशरण सिंखडाले निर्मलको अभियानमा आइसिसीको तर्फबाट समेत ऐक्यबद्धता जनाउंदै सक्दो सहयोगको प्रतिबद्धता गरे ।
त्यसअवसरमा मगर संघ यूकेका अध्यक्ष नेम थापा मगर, रिटायर्ड ले कर्नेल यमबहादुर राना, एनआरएन यूके उपाध्यक्षहरु शेर सुनार र सुशिला राई, एनआरएन आइसिसी सदस्य कुमारी गुरुंग, ग्रेटर रशमेर नेपाली कम्युनिटी अध्यक्ष जिव बेल्वासे, एनआरएन यूके सल्लाहकार कृष्ण तिमल्सेना, तमु धिं यूके उपाध्यक्ष हितकाजी ंगुरुंग, पूर्व मिस यूके नेपाल सिर्जना गुरुंग, युरोपियन च्याम्पियन किक बक्सर अदिप राना, युवा व्यवसायी किशोर राना लगायतले निर्मलको किर्तिमानी अभियानलाई सफलताको शुभकामना दिएका थिए ।
निर्मलको अभियानको सहयोगार्थ एनआरएन यूकेले गठन गरेको सहयोग समितिका संयोजक तथा एनआरएन यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले निर्मलको पृष्ठभुमि र उनको साहसिलो विगतको चर्चा गरेका थिए र्। नेपाली र गोर्खालीको नाम चम्काउने निर्मलको अभियान सफल बन्ने विश्वाससहित क्षेत्रीले उनको सहयोगका लागि हात अघि बढाउन सबैलाई आग्रह गरे ।
कार्यक्रमका संचालक एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले निर्मलको अभियानलाई सम्पुर्ण नेपालीको रुपमा अघि बढाउनुपर्ने भन्दै एनआरएन यूकेको तर्mबाट सम्भव हुने सबै सहयोगको प्रतिबद्धता गरे ।
कार्यक्रमको अन्त्यमा मोना यूकेका पूर्व अध्यक्ष समेत रहेका निर्मलका दाजु कमल पुर्जाले उनको साहसबाट आफुहरु गौरवान्वित भएको सुनाउंदै उनको सहयोगको लागि परिवारका तर्फबाट सबैमा अपील गरेका थिए ।






