नयाँ गभर्नर सिफारिस आज, गुल्मीका भुसालको चर्चा बढी

YubaRaj-Bhusalकाठमाडौं, ४ फागुन । नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस गर्ने जिम्मा पाएको समितिले आज सम्भावित तीनजनाको नाम सिफारिस गर्दै छ । हालका गभर्नर युवराज खतिवडाको पाँच वर्षे कार्यकाल विहीबार सकिने भएकाले बुधबारै नयाँ गभर्नर सिफारिस गर्न लागिएको हो ।
नयाँ गभर्नरका लागि पूर्व अर्थसचिव युवराज भुसालको नाम बढी चर्चामा छ । प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.चिरञ्जिवी नेपाल, अर्थविद डा. विश्वम्भर प्याकुरेल, पूर्वसचिव रामेश्वर खनाल,  एनसीसी बैंकका सीइअो ज्ञानेन्द्र ढुंगाना, डेपुटी गभर्नरहरु गोपाल काफ्ले र महाप्रसाद अधिकारी पनि गभर्नरको आकांक्षी छन् ।

तर, नाताले कांग्रेस उपसभापति रामचन्द्र पौडेलका सम्धी पर्ने भुसाल नै नयाँ गभर्नर बन्ने सम्भावना बढी रहेको जानकारहरु बताउँछन् । पौडेलको राजनीतिक लबिङ र अर्थमन्त्री रामशरण महत पनि सकारात्मक देखिनुले भुसाल नै नयाँ गभर्नर बन्ने चर्चा छ ।

सरकारले नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस गर्न अर्थमन्त्री महतको संयोजकत्वमा पूर्व गभर्नर हिमालयन शम्शेर राणा र राष्ट्र बैंकका पूर्व सञ्चालक समिति सदस्य पार्थिवेश्वर तिमिल्सिना सदस्य रहेको समिति गठन गरेको थियो । राजनीतिक दवावको कारण समितिको बैठक निष्कर्शबिहीन भएको थियो ।