एजेन्सी-ब्रिटेनले भारतीय व्यवसायी विजय वाल्याको प्रत्यर्पणलाई स्विकारोक्ति दिएको छ ।
माल्यामाथि भारतीय बैंकका करोडौं रुपैयाँ बक्यौता छ र उनी सन् २०१६ देखि ब्रिटेनमा छन् ।
करिब दुई महिनाअघि लण्डनको एक तल्लो अदालतले माल्याको प्रत्र्यपणमा मञ्जुरी दिएको थियो । तल्लो अदालतको निर्णयपछि ब्रिटेनका गृहमन्त्रीलाई यसबारे निर्णय लिनुथियो ।
ब्रिटेनका गृहमन्त्री साजिद जाविदले अब माल्याको प्रत्यर्पणलाई मञ्जुरी दिइएको छ ।
ब्रिटेनका गृहमन्त्रालयका एक प्रवक्ताले भने, ‘गृहमन्त्रीले सबै मामलामा सावधानीपूर्वक अनुसन्धान गरेपछि तीन फेब्रुअरीमा विजय माल्यालाई भारत प्रत्यर्पणको आदेशमा हस्ताक्षर गरे ।’
प्रवक्ताले थपे, ‘विजय माल्या भारतमा धोकाधडीको षड्यन्त्र रच्ने, गलत बयानबाजी गर्ने र कालो धनलाई सेतो बनाउनले मामलाका अभियुक्त हुन् ।’
गृहमन्त्रीको निर्णयमाथि आफ्नो प्रतिक्रिया जनाउँदै माल्याले ट्वीट गरेका छन् ।
माल्याले लेखेका छन्, ‘तल्लो अदालतको १० डिसेम्बर, २०१८ को निर्णय पछि नै मैले यसलाई चुनौती दिने मनसाय बनाएको थिएँ । तर गृहमन्त्रीको निर्णयअघि म यस्तो अपिल गर्न सक्दिनथेँ । अब म अपिलको प्रक्रिया सुरु गर्नेछु ।’
भारत ल्याउन कति समय लाग्नेछ ?
यद्यपी, माल्यालाई तुरुन्तै भारत ल्याउन सम्भव छैन । बीबीसी संवाददाता गगन सबरवालाका अनुसार विजय माल्यासँग यो आदेशलाई चुनौती दिनका लागि १४ दिनको समय छ ।
गगन भन्छन्, ‘गृहमनत्रीको आदेशविरुद्ध उनी पहिलो अपिल हाईकोर्टमा गर्न सक्छन् ।’
यदि हाईकोर्टमा उनको अपिल खारेज भए उनी सर्वोच्च अदालत जानसक्छन् ।
यो पूरा प्रक्रियामा करिब दुई वर्ष लाग्न सक्छ ।






