
काठमाडौं, चैत १ – नेपाली नायिका तथा मोडल झरना बज्राचार्यले आफ्ना प्रेमी राहुल अग्रवालसँग गत बिहिबार विवाह बन्धनमा बाँधिएकी छिन् । सितापाइलामा रहेको झरनाको घरमा निकै सिमित मानिसहरुका बीच उक्त विवाह सम्पन्न भएको बुझिएको छ ।

आफ्नो साढे तीन वर्षको प्रेमलाई विवाहमा परिणत गरेका यी नवविवाहित जोडी पहिलो पटक नेपाली फिल्म ‘सेफ ल्याण्डिङ’ बनाउने क्रममा भेटेका थिए । रेष्टुरेन्ट व्यवसायी राहुल भारतीय नागरिक हुन् र उनी क्वालालाम्पुरमा बस्छन् । औपचारिक विवाह पश्चात उक्त जोडीले आफ्ना परिवारजन र साथीहरुलाई काठमाडौंको सोल्टी होटलमा पार्टी दिएका थिए ।

नेपालमा नै हनिमुन मनाउने बिचार रहेको यो जोडी पोखराको होटल बाराहीमा बसेपश्चात् जोमसोम प्रस्थान गरेका छन् ।
विगत केहि वर्षदेखि कहिले काठमाडौं र कहिले क्वालालाम्पुर बस्दै आएकी झरनाले भर्खरै मलेसियाको क्वालालाम्पुरमा मेडिटेसन गरिरहेकी थिइन् ।











