टेरेजा मेले संसदमा पाइन् विश्वासको मत

लन्डन– बेलायती प्रधानमन्त्री टेरेजा मेले संसदमा विश्वासको मत पाएकी छन् । बुधबार साँझ संसदमा भएको मतदानमा बहुमत सदस्य मेको पक्षमा उभिए । अविश्वासको विपक्षमा ३२५ र पक्षमा ३०६ सांसद उभिए ।

मेले एक दिन अघि मंगलबार साँझ बेलायती संसदमा प्रस्तुत गरेको ईयूबाट बहिगर्मन (ब्रेक्जिट) प्रस्ताव बहुमतले अस्वीकृत भए लगत्तै विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बीनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । मंगलबार मेको प्रस्तावको पक्षमा जम्मा २०२ मत परेको थियो भने विपक्षमा ४३२ सांसदले मत हालेका थिए ।

सत्तारुढ कन्जर्भेटिभ पार्टीकै ११८ सांसदहरु र डियूपीका सांसदले समेत मेको प्रस्ताव विपक्षमा मत हालेका थिए । तर, बुधबार भने सत्तारुढ दलका सांसदहरु सबैले समर्थन गरेर मेले १९ मत बढिले जितिन् ।

विश्वासको मत पाएपछि प्रधानमन्त्री मेले सबै पार्टीका सांसदहरुलाई एकै ठाउँमा आएर ‘ब्रेक्जिट’ मुद्दा किनारा लगाउन आह्वान गरेकी छन् । ‘यो मेरो कर्तव्य हो कि ईयू छाड्न बेलायती जनताले दिएको निर्देशन शिरोपर गर्नु र मैले त्यो गरें’( मेले भनेकी छन् ।

जनमतसंग्रहपछि बेलायती जनता समक्ष गरेको प्रतिज्ञा पुरा गर्न आफू निरन्तर लागिरहने र ईयू छाड्ने उनले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *