काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को बारेमा निर्णय हुने बताएका छन् ।
आइतबार बिहान महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले पछिल्लो समय १२ औँ महाधिवेशनका लागि गरिएको काम कारबाहीबारे देउवालाई जानकारी गराएसँगै देउवाले यस्तो बताएका हुन् ।
केन्द्रीय सदस्य सुशील भट्टका अनुसार नेविसंघको वर्तमान कार्यसमितिको दोस्रो पटक थप गरिएको म्याद माघ २ गते समाप्त हुने भएकाले आगामी यात्रा के हुने भन्ने अन्योता सिर्जना भएको छ । यसबारे टोलीले सभापति देउवा निवास बुढानिलकण्ठ पुगेर उनलाई पछिल्लो गतिविधिसहितको ज्ञापनपत्र समेत बुझाएको भट्टले जानकारी दिए ।
जवाफमा सभापति देउवाले केन्द्रीय कार्यसमितिबाट संस्थागत रुपमा निर्णय हुने भन्दै महाधिवेशन केन्द्रित गतिविधिलाई निरन्तरता दिन निर्देशन दिएको भट्टले बताए । टोलीमा नेविसंघका सबै पक्षका नेताहरुको उपस्थिति रहेको थियो ।
टोलीले पार्टी सभापति देउवा समक्ष १२ औ महाधिवेशन अहिलेकै कार्यसमितिले गर्ने वातावरण निर्माण गरिदिन आग्रह पनि गरेको उनले बताए ।
उनले भने, ‘ हामीले अहिलेसम्म १४ जिल्लामा अधिवेशन सम्पन्न भएको र ४० जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भैसकेको जानकारी सभापति ज्यूलाई जानकारी गराएका छौँ । उहाँले १२ औँ महाधिवेशनको गतिविधिलाई तीव्र रुपमा अगाडी बढाउनु भन्नु भएको छ। ’
यसअघि वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने निष्कर्षसहित उपाध्यक्षहरू पुष्पाकुमार शाही, संजय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले सभापति देउवासामू राजीनामा दिएका थिए । १० गतेको बैठकमा यसबारे पनि पार्टीमा छलफल हुने बताइएको छ ।






