गुल्मी महोत्सवमा पाँच करोडको कारोबार

गुल्मी, २ चैत । कृषि, पर्यटन र उद्योग व्यापारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ तम्घासमा भएको दोस्रो गुल्मी महोत्सवमा रु पाँच करोडभन्दा बढीको आर्थिक कारोबार भएको छ । गुल्मी उद्योग वाणिज्य सङ्घले गुल्मी जिल्लाको समग्र विकासको आधार कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने नाराका साथ फागुन २२ गतेदेखि सुरु भएको महोत्सव १० दिनसम्म चलेको थियो । महोत्सवमा पाँच करोडभन्दा बढीको आर्थिक कारोबार भएको वाणिज्य सङ्घ गुल्मीका सचिव वीरेन्द्र भुसालले जानकारी दिनुभयो । महोत्सवमा तीन लाखभन्दा वढी दर्शकले अवलोकन गरेको वाणिज्य सङ्घका सदस्य एवम् टिकट संयोजक रामप्रसाद पन्थीले जानकारी दिनुभयो । महोत्सव अर्थ सङ्कलन तथा व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद भण्डारीले प्राप्त आम्दानीबाट सभागृह निर्माण गरिने र केही प्रतिशत अन्य सामाजिक कार्यमा खर्चिने जानकारी
दिनुभयो ।