एनआरएनको लगानीमा म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण शुरु

लन्डन- म्याग्दीको मालिका गाउँपालिकामा प्रवासी नेपालीको अगुवाइमा दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको सो आयोजनामा प्रवासमा रहेका म्याग्देली र गैरआवासीय नेपालीसँगै स्थानीयवासीको समेत लगानी हुनेछ ।

मालिका गाउँपालिका–६, दुखुवेँसी ९बलौटे० मा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले उक्त आयोजनाको विद्युतगृहको शिलान्यास गरिन । स्थानीय सातबीम, देवीस्थान र धारापानीको सीमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने सो आयोजनाको आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रु पाँच अर्ब १५ करोड लागत रहने आयोजनामा ३० प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानी रहने कम्पनीका प्रबन्ध निर्देशक हर्कमान घर्तीले जानकारी गराए ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा प्रभु बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, महालक्ष्मी, मुक्तिनाथ र ओम डेभलपमेण्ट बैंकसँग वित्तीय व्यवस्थापनको लागि सम्झौता भइसकेको दरबाङ कालिका हाइड्रोका अध्यक्ष विनोद कुँवरले बताए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए ) दक्षिण कोरियाका पूर्वअध्यक्ष, एनआरएन एसिया प्यासिफिकका उपसंयोजक एवं म्याग्दी प्रवासी नेपाली संघका पूर्ववरिष्ठ उपाध्यक्ष कुँवरको नेतृत्वमा निर्माण गर्न लागिएको आयोजनामा स्थानीयवासीसँगै प्रवासीलाई समेत लगानीको लागि आह्वान गरिएको छ । आयोजनामा कूल पाँच दशमलव पाँच किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याइने पानीलाई १०० मिटर हेडबाट दुखुवेँसी ९बलौटे० मा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युतलाई २९ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको दाना सवस्टेशनमा जोडिने छ । प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता भइसकेको आयोजनाबाट वार्षिक १५० गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । हिउँदमा चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद बिक्री हुने सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *